डा. माकाजु र पूर्वसचिव खनाललाई ‘हेमबहादुर मल्ल सम्मान’, राष्ट्रपतिद्वारा प्रदान
काठमाडौँ, ८ भदौ । सार्वजनिक प्रशासन, स्वास्थ्य सेवा र संस्थागत विकासको क्षेत्रमा विशिष्ट योगदान पुर्याएका दुई व्यक्तित्वलाई सोमबार ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिएको छ । काठमाडौँमा आयोजित एक विशेष समारोहका बिच राष्ट्रपति रामचन्द्र पौडेलले डा. रामकृष्ण माकाजु श्रेष्ठ र पूर्वसचिव रामेश्वरप्रसाद खनाललाई उक्त सम्मान प्रदान गर्नुभएको हो ।
नेपाल जन–प्रशासन संघ र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडद्वारा संयुक्त रूपमा स्थापित यस सम्मानअन्तर्गत डा. माकाजुलाई वर्ष २०८१ र खनाललाई वर्ष २०८२ को सम्मान प्रदान गरिएको छ । दुवै व्यक्तित्वलाई सम्मानसँगै जनही दुई लाख रुपैयाँ नगद र कदरपत्र प्रदान गरिएको छ ।
धुलिखेल अस्पतालका संस्थापक डा. रामकृष्ण माकाजु श्रेष्ठलाई स्वास्थ्य सेवाको विस्तार, अस्पतालको संस्थागत विकास र जनस्वास्थ्यमा पुर्याएको अतुलनीय योगदानका लागि सम्मानित गरिएको हो । त्यसैगरी, नेपाल सरकारका पूर्वसचिव रामेश्वरप्रसाद खनाललाई सार्वजनिक प्रशासन, आर्थिक नीति निर्माण र प्रशासनिक सुधारको क्षेत्रमा निर्वाह गरेको कुशल एवं निष्कलङ्क भूमिकाको कदर गर्दै सम्मानित गरिएको आयोजकले जनाएको छ ।
समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सार्वजनिक सेवा र प्रशासनमा उल्लेखनीय काम गर्ने व्यक्तित्वको सम्मानले नयाँ पुस्तालाई थप जिम्मेवार र इमानदार बन्न प्रेरित गर्ने बताउनुभयो । उहाँले प्रविधिभन्दा पनि अहिलेको समयमा नैतिकता र इमानदारिताको खाँचो बढी रहेकोमा जोड दिनुभयो ।
नेपाल सरकारका पूर्वसचिव कृष्ण ज्ञवालीको संयोजकत्वमा गठित छनोट समितिको सिफारिसका आधारमा उहाँहरूलाई सम्मानका लागि छनोट गरिएको थियो । साल्ट ट्रेडिङ कर्पोरेशनका तत्कालीन नेतृत्वकर्ता एवं कुशल व्यवस्थापक स्वर्गीय हेमबहादुर मल्लको स्मृतिमा वि.सं. २०६० सालदेखि यो सम्मान प्रदान गरिँदै आइएको छ ।
सार्वजनिक वितरण, व्यवस्थापन र जनसरोकारका क्षेत्रमा उल्लेखनीय काम गर्ने व्यक्तित्वलाई प्रदान गरिने यस सम्मानबाट हालसम्म २३ जना विशिष्ट व्यक्तित्वहरू सम्मानित भइसकेका छन् ।