आज देशभरको मौसम यस्तो, छ प्रदेशमा पानी पर्ने
काठमाडौं, १२ साउन । आज काठमाडाैं उपत्यकामा पानी परिरहेकाे छ भने देशकाे विभिन्न स्थानमा पानी पर्ने सम्भावना रहेकाे जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
नेपालमा मनसुनी वायुको साथै भारतको ओडिसा र आन्ध्र प्रदेश आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्का देखि मध्यम वर्षा जारी छ ।
दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सहित देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।
महाशाखाले यी क्षेत्रमा बाढीपहिरोलगायतको जोखिमबाट बच्न सचेत अनुराेध गरेकाे छ ।