सेनाको हेलिकप्टरबाट राहत सामग्री पठाइयो
बागलुङ । जिल्लाको पश्चिम भेगका बाढी पहिरो प्रभावितका लागि नेपाली सेनाको हेलिकप्टरबाट राहत सामग्री पठाइएको छ ।
अधिकारीचौर र बोङ्गादोभान गाविसमा शनिबार दुई चरणमा गरि हेलिकप्टरले राहत पु¥याएको हो । बिहीबार स्थलमार्गबाट गएको राहत, टोली सडक अवरुद्ध हुँदा बीचैमा रोकिएपछि हेलिकप्टरमार्फत राहत पठाइएको हो ।
एकीकृत सेवा केन्द्र बुर्तिवाङको निगरानीमा राहत सामग्री वितरण गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिनुभयो ।
उहाँका अनुसार अधिकारीचौरको छालहाल्नेका बाढी प्रभावितका लागि ३० बोरा चामल, ८० किलो चिउरा, सय किलो दाल, ५० किलो नुन, ५० प्याकेट खाने तेल, ५० थान पाल, भाँडाकुँडा, लत्ताकपडा वितरण गरिएको छ । यस्तै, बोङ्गादोभानको बुङ्खानीमा ३० बोरा चामल, ८० किलो चिउरा, सय किलो दाल, ५० किलो नुन, ५० प्याकेट खाने तेल, ३० थान पाल, ५० थान कम्मल, लत्ताकपडा र भाँडाकुँडा वितरण गरिएको छ ।
यसअघि गत बुधबार पनि त्यस क्षेत्रका बाढी प्रभावितका लागि हेलिकप्टरमार्फत प्रारम्भिक राहत सामग्री पठाइएको थियो । स्थलमार्गबाट गएको नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोली र राहत सामग्री सडक अवरुद्ध भएपछि शुक्रबारदेखि भिमगिठेमा रोकिएको छ ।
बाढीले क्षति पु¥याएको अधिकारीचौर, बोङ्गादोभान, बुर्तिवाङ, भिमगिठे, ग्वालीचौरलगायतका गाविसमा राहत वितरण गर्न टोली त्यसतर्फ गएको हो । तत्काल गर्नुपर्ने उद्धार र राहत सामग्री पु¥याउनै कठिन भएपछि बाढी प्रभावित थप समस्यामा परेका छन् ।
सडक र सञ्चारसमेत अवरुद्ध हुँदा प्रभावित क्षेत्रको वास्तविक अवस्था र सम्पूर्ण क्षतिको विवरण आउन सकेको छैन । राहत टोलीले ४० बोरा चामल, ११५ थान पाल, चिउरा ११ बोरा, औषधि सात कार्टुन, चाउचाउ १२ कार्टुन, पुरानो कपडालगायतका सामग्री वितरणका लागि लिएर गएको छ ।
बुर्तिवाङ, गलकोट क्षेत्रमा पनि बाढी पहिरो प्रभावितका लागि राहत सङ्कलन गर्ने कार्य चलिरहेको छ । गत सोमबार र मङ्गलबारको अविरल वर्षापछि भुजी, तमान, निशी र बढीगाढ खोलामा आएको बाढीले सय बढी घर बगाएको छ । १५० बढी घर बाढीको उच्च जोखिममा परेका छन् । करोडौँको जमिन, कृषि बाली, भौतिक संरचना, पुल, विकास आयोजनामा बाढीले क्षति पु¥याएको अनुमान गरिएको छ । पहिरोमा परी जिल्लामा छ जनाको ज्यान गएको छ ।
साउन १६ गते ।