साझाका पदाधिकारीलाई पूर्ववत् कामकाज गर्न निर्देशन

काठमाडाँ, १६ साउन । साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मा र तीन सदस्यको नियुक्तिका सम्बन्धमा उत्पन्न विवाद अन्त्य गर्दै शिक्षा मन्त्रालयले आज उहाँहरुलाई पूर्ववत् कामकाज गर्न निर्देशन दिएको छ ।

गत साउन ५ गते तत्कालीन शिक्षा सचिव विश्वप्रकाश पण्डितले शर्मा लगायत सञ्चालक समिति सदस्य दिनानाथ शर्मा, प्रदीप नेपाल र प्रा डा कृष्णहरि बराललाई कामकाज नगर्न निर्देशन दिनुभएको थियो ।

आज शिक्षामन्त्री अग्निप्रसाद खरेलको मन्त्रिस्तरीय निर्णयअनुसार सचिव पण्डितबाट प्रेषित पत्र कार्यान्वयन नगर्ने र साझाको काम यथावत् अघि बढाउन मन्त्रालयले पत्र पठाएको छ ।

साझाको पदाधिकारीको नियुक्ति गत वैशाख १५ मा पुनरावेदन अदालत पाटनले शर्मा लगायतको नियुक्ति कानुनसम्मत नदेखिएको ठहर गरेकोमा प्रकाशनले सो आदेशमा पुनरावलोकनका लागि गत वैशाख १८ मा सर्वोच्च अदालतमा दर्ता गरेको रिट विचाराधीन अवस्थामा रहेको छ ।

माथिल्लो अदालतमा विचाराधीन रहेको मुद्दामा मन्त्रालयका तत्कालीन सचिव पण्डितले आफू अवकाश हुने एक दिनअघि अध्यक्षलगायत ती पदाधिकारीलाई कामकाज नगर्न पत्र पठाउनुभएकोमा आजको नयाँ निर्णयले आफूहरु उत्साहित भएको अध्यक्ष तथा महाप्रबन्धक शर्माले राससलाई आज जानकारी गराउनुभयो । रासस