मनसुनको ढिलाइले धान रोपाइँमा १२ प्रतिशतको गिरावट, मधेस प्रदेशमै सबैभन्दा कम रोपाइँ
काठमाडौँ, २३ असार । प्रतिकूल मौसम र समयमै मनसुन सक्रिय नहुँदा यसवर्ष देशभरको धान रोपाइँमा उल्लेख्य कमी आएको छ। कृषि विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार गत वर्षको तुलनामा यसवर्ष रोपाइँको दर १२ दशमलव ६२ प्रतिशतले ओरालो लागेको हो।
गत वर्ष यही अवधिमा ४५ प्रतिशत रोपाइँ सम्पन्न भइसकेकोमा यसवर्ष देशभर ३२ दशमलव ३८ प्रतिशत मात्र रोपाइँ भएको छ। नेपालमा कुल १३ लाख ७० हजार ६२ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेकोमा हालसम्म ४ लाख ४३ हजार ५९५ हेक्टरमा मात्र मानो रोपिएको छ।
नेपालको ‘अन्न भण्डार’ मानिने मधेस प्रदेशमा यसवर्ष सबैभन्दा सुस्त गतिमा रोपाइँ भइरहेको छ। मधेस प्रदेशमा हालसम्म मात्र १५ दशमलव ६ प्रतिशत रोपाइँ भएको छ, जुन देशभरमै सबैभन्दा कम हो। कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले मधेस प्रदेशमा रोपाइँ ढिलो हुँदा राष्ट्रिय धान उत्पादनमा ठूलो ह्रास आउन सक्ने प्रक्षेपण गर्नुभयो।
यस्ताे छ प्रदेशगत रोपाइँको विवरण:
सुदूरपश्चिम प्रदेश: ५७ दशमलव ९ प्रतिशत (सबैभन्दा बढी)
गण्डकी प्रदेश: ४१ प्रतिशत
कर्णाली प्रदेश: ४० दशमलव ५ प्रतिशत
लुम्बिनी प्रदेश: ३७ दशमलव ३ प्रतिशत
बागमती प्रदेश: ३३ दशमलव २ प्रतिशत
कोशी प्रदेश: ३१ दशमलव ५ प्रतिशत
मधेस प्रदेश: १५ दशमलव ६ प्रतिशत (सबैभन्दा कम)
नेपालको कुल धान उत्पादनमा तराई क्षेत्रको योगदान ७० प्रतिशत र पहाडी क्षेत्रको ३० प्रतिशत रहने गरेको छ। मुख्य उत्पादन क्षेत्र मानिने तराईका जिल्लाहरूमा सिँचाइको अभाव र आकासे पानीको ढिलाइले गर्दा कृषि अर्थतन्त्रमा नकारात्मक असर पर्ने देखिएको छ।
पछिल्ला केही दिनयता देशका अधिकांश स्थानमा वर्षा सुरु भएकाले रोपाइँको दरमा केही सुधार आउने अपेक्षा गरिएको छ। यद्यपि, धान रोप्ने उपयुक्त समय घर्किसकेकाले ढिलो गरी रोपिने धानको उत्पादकत्वमा भने कमी आउन सक्ने विज्ञहरूको चेतावनी छ।