सरकारसँग सत्तारुढ दल नै असन्तुष्ट, सरकार समस्या समाधानतर्फ नलागेको गुनासो

काठमाडौं, २३ असार । पछिल्लो समय सरकारको गतिविधिबाट सत्ता पक्ष सांसद नै रुष्ट बन्न थालेका छन् । अहिले दुइतिहाई नजिकको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकार छ । रास्वपाले सरकारको नेतृत्व गरेको सय दिन पूरा भएको छ । तर, यी सय दिनमा जनताको अपेक्षा भन्दा पनि सरकार बढी स्टन्टमा केन्द्रित भएको भन्दै जनस्तरबाटै आलोचना सुरु भैरहेका बेला सत्तापक्षका सांसदहरु नै रुष्ट बन्न थालेका छन् । केही सांसदहरुले संसदबाटै सरकारका गतिविधि सच्याउन सुझाव दिएका छन् भने केही सांसदले सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गर्न थालेका छन् । दोलखाबाट निर्वाचित सांसद जगदीश खरेलले संसद् र सरकारको गरिमा रहने गरी काम हुनुपर्ने भन्दै सरकारको कढा शब्दमा विरोध गर्नुभएको छ । उहाँले सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै यस्तो विरोध गर्नुभएको हो । ‘हामीले यस सदनलाई गरिमामय भनेर सम्बोधन गर्दै गर्दा यस सदनमा रहेका सांसदहरूको गरिमा रहेन भने अनि आत्मसम्मानमा चोट पुग्यो भने यो सदनको गरिमा रहँदैन,’ उहाँले भन्नुभयो, ‘ हामीले २१ फागुनको निर्वाचन अगाडि जनताको बीचमा गरेको बाचा विर्सिनु हुँदैन । भोट माग्दै जाँदा हामीले नागरिकसँग भनेका थियौं, हरेक नागरिकको समस्याहरू हामी समाधान गर्न तत समस्याको समाधानको निम्ति तत् मन्त्रालय होस् कुनै पनि संस्थामा पुग्छौं भनेका थियौं ।’

उहाँले फादर अफ द पब्लिक हेल्थ भन्ने सुन्दा राम्रो सुनिए पनि यो राम्रो शब्द नभएको भन्दै त्यो शब्द भनेको हैजा भएको टिप्पणी गर्नुभयो । ‘फेरि पनि महामारी फैलँदै छ,’ खरेलले भन्नुभयो, ‘यो महामारी फैलियो भने पुराना शक्तिहरू आफैं आफैं मात्रै बिग्रिएर सकिएको हैन, यही शक्तिले सकाएको हामीलाई पनि त्यसरी नसकोस् ।’
त्यसैगरी अर्का सांसद रमेश प्रसाईँले पनि हालसालै कर्णाली राजमार्गमा भएको दुर्घटना र सरकारले समयमा चासो नराखेको विषयमा कढा टिप्पणी गर्नुभयो । ‘सरकारले उद्धारका लागि आफ्नो सम्पूर्ण क्षमता परिचालन गर्यो कि गरेन ,’ उहाँले भन्नुभयो, ‘के मान्छे भिरमा अड्किएर हार गुहार गरेको र विपक्षी मित्रहरूले भने जस्तै लापरबाही भएको साँचो हो ?’
उहाँले यो विषयमा उनले गृहमन्त्रीसँग जवाफ दिनुपर्ने अडान राख्नुभयो । ‘भविष्यमा कर्णाली राजमार्गम यस्ता दुर्घटना दोहोरिन नदिन सरकारसँग दीर्घकालीन योजनाहरू के के छन् रु गृहमन्त्रीले यो रोष्ट्रममा उभिएर उत्तर दिनैपर्छ ।’
यता अर्की सांसद सत्तारुढ क्रान्ति शिखा धितालले सुकुम्वासी व्यवस्थापनको क्रममा राज्यले अपनाएको शैलीलाई लिएर असन्तुष्टि व्यक्त गर्नुभएको छ । रास्वपाकी सचेतक समेत रहनु भएकी उहाँले सुकुम्वासी बस्ती खाली गराउने क्रममा सडकमा देखिएको मानवीय संकट र रुवाबासीप्रति उनले आफ्नै सरकारको कार्यशैलीमाथि प्रश्न उठाउनु भएको हो । सामाजिक सञ्जालमा एक सन्देश लेख्दै उहाँले सडकमा बगिरहेका सुकुम्वासीका आँसुले सबैलाई पोल्नुपर्ने उल्लेख गर्नुभयो । ।

सुकुम्वासीको व्यवस्थापन अनिवार्य भए तापनि अहिले भइरहेको बल प्रयोग र प्रक्रियाले राज्यको कमजोरी मात्र उजागर गरेको उहाँको तर्क छ । चुनावताका रास्वपाले जनतामाझ गरेको बाचा स्मरण गर्दै धितालले अहिलेको कार्यशैली आफ्नै दलको वाचा पत्र अनुसार भयो भनी प्रश्न सोध्दै सुकुम्वासीहरूको व्यवस्थापन अत्यन्तै आवश्यक थियो भन्दै हाम्रो बाचापत्र अनुसार भयो ? के अभिभावकीय राज्य यस्तै हुन्छ ?’ भन्दै प्रश्न उठाउनु भएको छ ।
। त्यसैगरी रास्वपाकै सांसद टेक बहादुर शाक्यले केही दिनदेखि आफ्नो निर्वाचन क्षेत्र पर्सा ४ मा नाकामा जनता र सशस्त्र प्रहरी बीच झडप भएको खबर प्राप्त भएको भन्दै त्यो झडप झनै बढ्दै जाने जस्तो देखिएकोमा चिन्ता व्यक्त गर्नुभएको छ । ‘मेरो निर्वाचन क्षेत्रको हन्ड्रेड पर्सेन्ट अर्थात ६८ किलोमिटर छिमेकी मुलुक भारतसँग खुल्ला सिमा छ, जहाँ कुनै छोटी भन्सार सुचारु छैन । भएका पनि बन्द अवस्थामा छन्,’ उहाँले भन्नुभयो, ‘‘सदियौँदेखि सामान्य घर खेत चुलोमा प्रयोग हुने, खानपान नुन तेल र बिउ बिजन दुई देश दुई देश बीचको हार्दिक सम्बन्ध, बिहेबारी रोटी बेटीको सम्बन्ध अत्यन्तै हृदय स्पर्शी छ, रहने नै छ । तर आज ती सिमाको रक्षा गरेर बसेका जनता त्रसित भएका छन्, आन्दोलित भएका छन्’ उहाँले भन्नुभयो ।