तनहुँमा कृषि उद्यम विकास कार्यक्रम प्रभावकारी : ब्रान्डिङ र प्याकेजिङले स्थानीय उत्पादनलाई बजारमा चिनाउँदै डुम्रे
काठमाडौँ, असार २३ । तनहुँ जिल्लामा कृषि उत्पादन वृद्धि, रोजगारी सिर्जना र किसानको आयआर्जनमा टेवा पुर्याउने उद्देश्यले सञ्चालन गरिएको ‘कृषि उद्यम विकास कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ । आधुनिक कृषि प्रविधिको प्रयोग, व्यावसायिक खेती र बजारसँगको पहुँच विस्तार भएसँगै यहाँका किसान परम्परागत निर्वाहमुखी खेतीबाट व्यावसायिक उद्यमतर्फ आकर्षित भएका छन् ।
स्थानीय उत्पादनको ब्रान्डिङ र बजारीकरण
पहिले खुला रूपमा बिक्री हुँदै आएका स्थानीय कृषि उपजहरू अहिले आफ्नै ‘ब्रान्ड’, आकर्षक ‘लेबल’ र गुणस्तरीय ‘प्याकेजिङ’ सहित उपभोक्तामाझ पुग्न थालेका छन् । कृषि विकास कार्यालयका सूचना अधिकारी एवं बाली संरक्षण अधिकृत किरण परियारका अनुसार, यस कार्यक्रमले किसानद्वारा उत्पादित सामग्रीको मूल्य अभिवृद्धिमा महत्त्वपूर्ण भूमिका खेलेको छ ।
कार्यक्रमअन्तर्गत बेसार, अदुवा, मह, सातु, तोरीको तेल, मकै, फापर, कोदो, चामलको पिठो र विभिन्न दलहनजन्य वस्तुहरूलाई प्रशोधन गरी आकर्षक रूपमा बजारमा उपलब्ध गराउन थालिएको छ । ‘स्थानीय उत्पादनलाई आयातित वस्तुसँग प्रतिस्पर्धी बनाउन ब्रान्डिङ र प्याकेजिङ अपरिहार्य छ ।’ अधिकृत परियारले भन्नुभयो, ‘यसले उपजको गुणस्तरप्रति उपभोक्ताको विश्वास बढाउनुका साथै किसानलाई उचित मूल्य दिलाउन सहयोग पुगेको छ।’
सहकारी र कृषक समूहको सक्रियता
जिल्लाका विभिन्न स्थानीय तहमा कृषक समूह र सहकारीहरू यस अभियानमा सक्रिय देखिएका छन् । घिरिङ र भिमादका सुन्धारा महिला समूह र सिद्ध बहुउद्देश्यीय सहकारीले बेसारको व्यावसायिक प्याकेजिङ र लेबलिङ गरिरहेका छन् ।
शुक्लागण्डकीमा स्थानीय उपज सङ्कलन गरी सातु उद्योग सञ्चालनमा छ । व्यास र भानु १२ मा चामलको ब्रान्डिङ र भानु १ मा तोरीको तेल उत्पादन भइरहेको छ । आँबुखैरेनीका कृषक समूहले कोदोको पिठो र मकैको च्याख्ला प्याकेजिङ गरी बजारमा पठाउन थालेका छन् ।
यी उत्पादनहरूको गुणस्तर सुनिश्चित गर्न कृषि विकास कार्यालयले खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयसँग समन्वय गरी अनुज्ञापत्र उपलब्ध गराउने कार्यमा समेत सहयोग गरिरहेको छ ।
भावी योजना र चुनौती
कृषि विकास कार्यालयले आगामी आर्थिक वर्षमा यो कार्यक्रमलाई थप विस्तार गर्दै धेरैभन्दा धेरै किसान र उद्यमीलाई समेट्ने तयारी गरेको छ। ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउन र युवाहरूलाई कृषिमा आकर्षित गर्न यो कार्यक्रम कोशेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ ।
यद्यपि, बजार मूल्यको अस्थिरता, भण्डारण र चिस्यान केन्द्रको अभाव, जलवायु परिवर्तनको असर र कृषि बिमामा सीमित पहुँच जस्ता समस्याहरू अझै पनि चुनौतीका रूपमा रहेका छन्। यी चुनौतीहरूलाई चिर्दै कृषि व्यवसायलाई दिगो बनाउन उत्पादनको प्रशोधन र बजारीकरणमा थप लगानी आवश्यक देखिएको कार्यालयले जनाएको छ ।