निर्वाचन पछाडि धकेल्ने षड्यन्त्र हुँदै – महासचिव पोखरेल

भक्तपुर, २२ साउन । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) को गठबन्धन सरकारले निर्वाचन पछाडि धकेल्ने षड्यन्त्र गरिरहेको आरोप लगाउनुभएको छ ।

भक्तपुरको सूर्यविनायकमा आज एमाले भक्तपुर नगर कमिटीले आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उहाँले आलोपालो सरकार सञ्चालनको सहमतिले चुनाव अझै पछाडि धकेलिने बताउनुभयो ।

स्थानीय निकायको निर्वाचन आगामी चैतमा गर्ने वर्तमान सरकारले जनाए पनि त्यसलाई पछाडि धकेल्ने र २०७४ माघसम्ममा गर्नै पर्ने केन्द्रीय तहसम्मको निर्वाचन नगर्ने षड्यन्त्र भइरहेको आरोप पनि उहाँले लगाउनुभयो ।

सरकारबाट बाहिरिनुपर्दैमा एमाले आत्तिनु नपर्ने बताउँदै उहाँले नौ महिनाको अबधिमा एमालेको नेतृत्वको सरकारले जनताको पक्षमा काम गरेकाले जनताको साथ एमालेलाई रहने जिकिर गर्नुभयो । रासस