नागको पूजा गरी नागपञ्चमी पर्व मनाइयो

काठमाडौँ । प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको चित्र टाँसी पूजाअर्चना गरेर मनाइँदैछ ।
आजको दिन घरका ढोकामा नागको चित्र टाँसी पूजा गर्नाले चट्याङ र आगलागीका साथै सर्प, बिच्छीलगायत विषयुक्त जीवबाट रक्षा गर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो ।
वराहपुराणमा उल्लेख भएअनुसार यसै तिथिमा नागराजसँग ब्रह्माको संवाद भएकाले आजको दिन नागपूजाका लागि प्रसिद्ध भएको हो ।
आज अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागको पूजा गरी दुबो, गाईको दूध, अक्षता आदि चढाइएका घरमा अगस्त्य, पुलस्त्य, वैशम्पायन, सुमन्तु र जैमिनी ऋषिले अग्निभय र विषयुक्त जीवको भयबाट बचाउने चतुर्वर्ग चिन्तामणिमा उल्लेख गरिएको छ ।
नागपञ्चमीका दिन बिहान सबेरै पुरोहितद्वारा नागको पूजा गरेर घरको मूलद्वारमा नागको चित्र टाँसी घरधनीले पनि नागपूजा गर्ने शास्त्रीय परम्परा छ ।
आजका दिन आफ्ना कुलनागका थानमा पनि विशेष रूपमा पूजा गरी खीर, रोटीलगायतका प्रसाद चढाउने गरिन्छ । नागपञ्चमीको अवसरमा भक्तपुरका विभिन्न धार्मिक पीठमा बिहानैदेखि भव्य मेला लागेको छ ।
जिल्लाको चाँगुनारायण मन्दिरमा आज बिहानैदेखि ठूलो मेला लागेको छ । मेला भर्न भक्तपुर, काठमाडौँ, ललितपुर र काभ्रेदेखिका धर्मावलम्बीहरु मन्दिरमा आएका छन् । मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेकोे मन्दिरका पुजारी चक्रधरानन्द राजोपाध्यायले जानकारी दिनुभयो ।
साउन शुक्ल पञ्चमीका दिन लाग्ने यस मेलामा चाँगुनारायणलाई गाईको दूध, घ्यू, दुबो तथा रायोको गेडा चढाउनाले घरखेतमा नागले दुःख नदिने धार्मिक विश्वास रहेको उहाँले बताउनुभयो ।
आजको दिन चाँगुनारायण मन्दिरबाट फर्किएर आ–आफ्नो घरको मूलढोकामाथि गाईको गोबरले नाग टाँसी दुबो, रायोको गेडा र गाईको दूध चढाउने परम्परा रहेको छ ।
चाँगुनारायण मन्दिर नजिकै रहेको शङ्खदहमा पनि स्नान गर्नेको बिहानैदेखि घुइचो लागेको छ । यस दहमा स्नान गर्नाले रोग नलाग्ने र लागेको रोग पनि निको हुने जनविश्वास रहेको छ ।
शङ्खदह भूक्षयको चपेटामा परेपछि प्लास्टिकको कृत्रिम पोखरी बनाएर आजको मेला सञ्चालन गरेको शङ्खदह संरक्षण समितिका अध्यक्ष दिनेश खनालले बताउनु भयो । आजैदेखि शङ्खदह संरक्षणको अभियान सञ्चालन गरेको उहाँले जानकारी दिनुभयो ।
त्यसैगरी आजै भक्तपुर नगरपालिकास्थित तिलमाधव नारायणको मन्दिर र वाखुपति नारायणको मन्दिरमा पनि मेला लागेको छ । यहाँका दुवै मन्दिरमा भक्तपुर, थिमि, काभ्रे, बनेपा, पनौतीलगायतका स्थानबाट दर्शनार्थी आएका छन् ।
तिलमाधव नारायण र बाखुपति नारायणको पूजा गरी दर्शन गरेमा पूण्य प्राप्त हुने, मनोकांक्षा पूरा हुने र घरमा सर्पले दुःख नदिने जनविश्वास रहेको छ ।
नागदहमा नागपूजा गर्नेको भीड
ललितपुर – ललितपुर उपमहानगरपालिका धापाखेलमा रहेको नागदहमा नागपूजा गर्ने भक्तजनको भीड लागेको छ ।
पूजाका लागि आवश्यक पर्ने सामग्री लिएर बिहानैदेखि लामबद्ध रुपमा भक्तजनको उल्लेखनीय सहभागिता रहेको छ । दहको छेउमै नागको प्रतीकका रुपमा नागको मूर्ति स्थापना गरिएको छ ।
नागपञ्चमीका दिन नाग पूजा एवम् दर्शनका लागि यहाँ चापागाउँ, झरुवाराशी, गोदावरी, सुनाकोठी, पाटन, लेले, छम्पी, ठेचो, गोदामचौर, ठैवलगायतका क्षेत्रबाट भक्तजनको सहभागिता रहेको स्थानीयवासी देवराज विष्टले बताउनुभयो ।
हरेक साउन शुक्ल पञ्चमीका दिन नागको पूजा गर्ने प्रचलन रहेको छ । आजकै दिन हरेक घरको मूलढोकामा नागको तस्बिर राखेर नागको पूजा गरेर नागपञ्चमी मनाउने गरिन्छ ।
नागपूजा गर्नाले आगो, चट्याङ एवम् सर्पको भय नहुने जनविश्वास रहँदै आएको छ । हिन्दू धर्मअनुसार सर्पहरुको राजा नागलाई मान्ने गरिन्छ ।