स्वास्थ्यकर्मी कम हुँदा स्वास्थ्य सेवा पाउनबाट सर्वसाधारण वञ्चित

?????????????????????????????????????????????????????????

भोजपुर । जिल्ला स्वास्थ्य कार्यालय भोजपुरमा जनस्वास्थ्य अधिकृत र मेडिकल सुपरिटेन्डेन्टसहित १४० भन्दा बढी स्वास्थ्यकर्मीको दरबन्दी रिक्त रहेको छ ।
जिल्ला स्वास्थ्य कार्यालयअन्तर्गत प्रमुखसहित ११ दरबन्दी रिक्त रहेका छन् भने जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कृष्ण शाह काज सरुवा भएपछि उहाँसहित ११ दरबन्दी रिक्त भएको छ ।

त्यस्तै जिल्लाभर रहेका प्राथमिक स्वास्थ्य केन्द्रमा ११ दरबन्दी रिक्त छ भने स्वास्थ्य चौकी तथा उपस्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारी १५० भन्दा बढी रिक्त रहेको पाइएको छ । जिल्लाको कुल ३८७ दरबन्दीमध्ये १७० भन्दा बढी दरबन्दी रिक्त भएको जानकारी निमित्त कार्यालय प्रमुख डा रमेश तामाङले दिनुभयो ।

त्यस्तैगरी स्वास्थ्यकर्मीमध्ये हेल्थ असिस्टेन्ट ६६ जना, अनमी ७७ जना र अहेव ५० जना, स्टाफ नर्स चार जना र ल्याब असिस्टेन्ट तीन जनाको पद रिक्त रहेको उल्लेख गरिएको छ ।

भौगोलिक रुपमा दुर्गम मानिने भोजपुर जिल्लामा स्वास्थ्यकर्मीको दरबन्दी पूर्ति नहुँदा जिल्लातहदेखि गाउँतहसम्मका सर्वसाधारण गुणस्तरीय स्वास्थ्य सेवा पाउनबाट वञ्चित हुँदै आएका छन् ।

भोजपुर सदरमुकाममा रहेको जिल्ला अस्पताल ५० श्ययाको निर्माणाधीन अवस्थामा छ भने इर्मजेन्सी सेवा समेत भूकम्पबाट भवन क्षतिग्रस्त भएपछि हाल अस्थायी रुपमा १६ श्ययामा सञ्चालन हुँदै आएको छ ।

दैनिक बिरामीको चापले गर्दा बेड सङ्ख्या पर्याप्त नहुँदा भुइँमा राखेर उपचार गरिरहनु परेको अहेव दुर्गा विश्वकर्माले बताउनुभयो ।

साउन ३१ गते ।