पूर्व मुमाबडामहारानी रत्नको निवास महेन्द्र मञ्जिलको बिजुली काटियो

Ratna

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले पूर्व मुमा बडामहारानीको निवास महेन्द्र मञ्जिलको विद्युत् लाइन काटिदिएको छ । लामो समयदेखि विद्युत् महसुल नबुझाएको भन्दै मञ्जिलको बिजुली काटिदिएको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेका अनुसार रु ३७ लाख ३१ हजार ३३१ रकम बक्यौता रहेको महेन्द्र मञ्जिल, रु १० लाख १० हजार बक्यौता रहेको कमला दुगड र रु छ लाख ६३ हजार बक्यौता रहेको शारदा शेरचनको लाइन काटिएको हो ।
यस्तै अत्तरीया क्षेत्रीय कार्यालय मातहतका १४ ग्राहकको लाइन काटिएको छ । प्राधिकरणका अनुसार युनाइटेड टेलिकमसहित १० ग्राहकको रु नौ लाख १८ हजार ८५२ बक्यौता रहेको छ ।
त्यस्तै डोटीका १० ग्राहकको लाइन काटिएको छ । सो जिल्लामा रु एक लाख ६४ हजार ४९५, डडेल्धुराका १० ग्राहकको रु तीन लाख २९८ बक्यौता रहेको छ । दार्चुलाका १० ग्राहकको रु तीन लाख २४ हजार १९५, बैतडीका १० ग्राहकको रु चार लाख ६६ हजार, महेन्द्रनगरमा रु १३ लाख ४१ हजार ४२६ बक्यौता रहेको छ । ती क्षेत्रीय कार्यालयको कुल रु ४६ लाख ३९ हजार ६०४ बक्यौता रहेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले मुलुकभरि रु १० अर्बको हाराहारीमा बक्यौता रकम उठाउन बाँकी रहेको जनाएको छ । त्यसमा रु तीन अर्ब मात्रै सडक बत्तीको बक्यौता उठाउन बाँकी रहेको छ ।