सामाजिक परिचालक नियुक्तिमा पक्षपात

विराटनगर । स्थानीय गोविन्दपुर गाविसमा सामाजिक परिचालकको नियुक्तिमा पक्षपात गरिएको आरोप मोरङ जिविसमाथि लागेको छ ।
नेपाल आदिवासी जनजाति महासङघले आज विराटनगरमा पत्रकार सम्मेलन गरी जिविसले सामाजिक परिचालकमा इन्दिरा सङ्ग्रौलालाई नियुक्ति गरेकामा आपत्ति प्रकट गरेको हो ।
उक्त पदका लागि गत जेठ १६ गतेदेखि सात दिने म्याद दिई गरिएको विज्ञापनमा ६ जनाले निवेदन दर्ता गराएका थिए । निवेदकमध्ये तेह्रथुम जिल्लाबाट गत असार २६ मा बसाइसराई गराईएकी सङ्ग्रौलालाई असार ३० गते नै जिविसले नियुक्ति दिएपछि महासङ्घका पदाधिकारी तेजनारायण ताजपुरियाले बताउनुभयो ।
सामाजिक परिचालक नियुक्ति प्रक्रियामा लक्षित वर्गलाई विशेष ग्राहयता दिनुपर्ने कानुनी व्यवस्था भए पनि त्यसलाई बेवास्ता गरी नियुक्ति दिएकाले सो नियुक्ति खारेज नगरे विरोधका कार्यक्रम गर्ने सो महासङ्घका अर्का पदाधिकारी मिलनकुमार राईले बताउनुभयो ।