मधेस केन्द्रित केही दलले सिंहदरबारसँग ‘ब्याकमेलिङ’

काठमाडौँ । नेकपा एमाले सचिव योगेश भट्राईले मधेस केन्द्रित केही दलले सिंहदरबारसँग ‘ब्याकमेलिङ’ गरेको आरोप लगाउनु भएको छ । युवा संघ नेपालको श्रम तथा रोजगार विभागले आयोजना गरेको ‘युवाका स्वदेशी तथा वैदेशिक रोजगारीमा देखिएका अवसर र चुनौती’ विषयक अन्तरक्रियामा बोल्दै उहाँले यस्तो आरोप लगाउनु भएको हो । मधेस आन्दोलनको नाममा सिंहदरबारसँग ‘ब्याकमेलिङ’ गर्ने काम भएको भन्दै उहाँले एमालेले एनजीओ, आइएनजीओ र विदेशी डलरकाले सिंहदरबारको सत्ता चलाउने सपना पूरा हुन नदिने चेतावनी दिनुभयो । पहिला मधेस आन्दोलनका क्रममा ५० जना सहिद भए भन्नेहरु पछि त्यो संख्या बढाउँदै ६८ पुर्याउँनुले पनि मधेस केन्द्रित केही दलको नियतप्रति शंका उत्पन्न भएको उहाँले दाबी गर्नुभयो ।
कार्यक्रममा बोल्दै उहाँले अब एमाले सिंहदबार छिर्दा बहुमतसहितको पहिलो पार्टी भएर मात्र छिर्ने दाबी पनि गनुृभयो । एमालेले ल्याएका नीति, कार्यक्रम र बजेट पनि लोकप्रिय थिए भन्दै अब एमाले बहुमतसहित सिंहदरबार छिरेपछि पूरा गर्ने बताउनुभयो ।
कार्यक्रममा पूर्वमन्त्री एवम् युवा संघका पूर्व अध्यक्ष महेश बस्नेतले टेण्डर कब्जा गर्ने युवाका दिन गएको दाबी गर्नुभयो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले सबै काम गर्छु भन्ने होइन केही काम गर्न सक्छु भन्ने प्रमाणपत्र चाहिएको दाबी गर्नुभयो । सानो सपना मलेसिया र ठूलो सपना अमेरिकाको अन्त्य हुनु पर्नेमा पनि उहाँले जोड दिनुभयो ।
युवा संघका अध्यक्ष राजीव पहारीले स्वदेशी उत्पादनमा जोड दिने बताउनुभयो । श्रम सचिव विष्णुप्रसाद लम्सालले सबै जग्गा बाँझो नराख्ने हो भने १२ लाख युवाले रोजगारी पाउने बताउनुभयो ।
भदौ १० गते ।