नेपालकै पहिलो बाल मुद्रा संकलक दाजुबहिनीद्वारा ऐतिहासिक पुस्तक हस्तान्तरण
काठमाडौँ, ११ वैशाख । नेपालका पहिलो बाल मुद्रा संकलकका रूपमा चिनिएका दाजुबहिनी लक्ष्यजीत मल्ल र समृद्ध मल्लले मुद्रा शास्त्रसम्बन्धी एक महत्वपूर्ण ऐतिहासिक पुस्तक विशिष्ट व्यक्तित्वहरूलाई हस्तान्तरण गरेका छन्।
भुवनेशकुमार प्रधानद्वारा लिखित ‘नेपाली सिक्कामा दामको महत्व’ (द इम्पोर्टेन्स अफ दाम इन द क्वाइनेज अफ नेपाल) नामक पुस्तक बिहीबार एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो।
नेपाल मुद्रा संकलक संघद्वारा प्रकाशित उक्त पुस्तक संघका अध्यक्ष दिनेशराज मास्के र बाल संकलकद्वयले नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइटेललाई उपहारस्वरूप प्रदान गर्नुभयो। सोही अवसरमा नागरिक न्यूजका सम्पादक तेजेन्द्र काफ्ले, संवाददाता कृष्ण किसी र भ्रष्टाचार विरोधी अभियन्ता प्रेमध्वज लामालाई समेत पुस्तकको एक-एक प्रति हस्तान्तरण गरिएको थियो।
कार्यक्रममा बाल मुद्रा संकलकका पिता मन्जित मल्लले प्रकाशित पुस्तकबारे जानकारी दिँदै यसलाई पुराना मुद्राहरूको ऐतिहासिक पक्ष समेटिएको नेपालकै पहिलो पुस्तक भएको दाबी गर्नुभयो। उहाँका अनुसार यो पुस्तकले नेपालको मुद्रा इतिहास र ‘दाम’ को महत्वलाई बुझ्न अनुसन्धानकर्ताहरूका लागि महत्वपूर्ण स्रोत सामग्रीको काम गर्नेछ।
पूर्ण रूपमा अंग्रेजी भाषामा तयार पारिएको यस ऐतिहासिक पुस्तकको बजार मूल्य दुई हजार ५०० रुपैयाँ तोकिएको छ। सानै उमेरदेखि मुद्रा संकलनमा लागेका लक्ष्यजीत र समृद्धको यो सक्रियतालाई मुद्रा संकलकहरूले निकै सकारात्मक रूपमा लिएका छन्।