धनकुटामा १३औँ ‘रारा रनिङ गोल्डकप’ वैशाख १८ देखि हुने : विजेताले ७ लाख पाउने
काठमाडौँ, वैशाख १० । धनकुटाको चौबिसे गाउँपालिकास्थित राजारानीमा आगामी वैशाख १८ गतेदेखि १३औँ संस्करणको ‘रारा रनिङ गोल्डकप’ फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । आयोजक रारा फुटबल क्लब, राजारानीले सोमबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।
चण्डीपूर्णिमा तथा बुद्धजयन्तीको अवसर पारेर आयोजना गर्न लागिएको यस प्रतियोगितामा देशभरका आठवटा फुटबल टोलीले सहभागिता जनाउने क्लबका अध्यक्ष मणि चेम्जोङले बताउनुभयो । प्रतियोगिताको विजेताले ७ लाख र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यो धनकुटा जिल्लाकै सबैभन्दा बढी पुरस्कार राशिको फुटबल प्रतियोगिता हो ।
प्रतियोगितामा आयोजक रारा फुटबल क्लबसहित सलेह फुटबल क्लब (सर्लाही), विर्तामोड युनाइटेड (झापा), आरआइएफसी (काठमाडौँ), केराबारी फुटबल क्लब (सुनसरी), धरान फुटबल क्लब (सुनसरी), गाईघाट फुटबल क्लब (उदयपुर) र डाँडाबजार फुटबल क्लब (धनकुटा) ले प्रतिस्पर्धा गर्नेछन् ।
वैशाख २२ गतेसम्म सञ्चालन हुने यस प्रतियोगिता सम्पन्न गर्न करिब ३६ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको क्लबका सचिव जीवन कटुवालले जानकारी दिनुभयो । स्थानीय खेलकुदको विकास र पर्यटन प्रवर्धनमा यो प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास छ ।