राजनीतिक सङ्कट निम्त्याउन खोजिँदै छः महासचिव पोखरेल
काठमाडौँ । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले राजनीतिक संवैधानिक सङ्कट निम्त्याउन वर्तमान सरकारले विभिन्न तानावुना बुनिरहेको आरोप लगाउनुभएको छ ।
एमाले निकट नेपाल लोकतान्त्रिक तामाङ सङ्घको १२औँ स्थापना दिवसको अवसरमा आज यहाँ आयोजित ‘संविधान कार्यान्वयनको चुनौती र हाम्रो कार्यभार’ विषयक विचार गोष्ठीमा महासचिव पोखरेलले वर्तमान सरकारको कार्यशैलीले गर्दा राजनीतिक संवैधानिक सङ्कट निम्त्याउने खतरा बढेको उल्लेख गर्नु भयो ।
उहाँले अघिल्लो सरकारले ल्याएको तीन तहको चुनावी कार्ययोजना वर्तमान सरकारले लत्याएको भन्दै स्थानीय निकायको चुनाव नगर्ने षड्यन्त्र भइरहेको बताउनुभयो ।
सङ्घका कार्यवाहक अध्यक्ष दावा तामाङको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य गोकुल घर्ती, अनेरास्ववियुकी अध्यक्ष नवीना लामा, प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत, नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घका महासचिव शरण राईलगायतले देश र जनताको माया गर्ने एमाले पार्टी मात्र भएको बताउनुभयो ।
न्यूनतम पारिश्रमिक कार्यान्वयन अभियान
नेपाल पत्रकार महासङ्घले श्रमजीवी पत्रकार ऐन र श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयन गराउनका लागि अभियान सञ्चालन गर्ने भएको छ ।
केन्द्रीय कार्यालय सञ्चारग्राममा आज महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टको अध्यक्षतामा बसेको केन्द्रीय समितिका उपलब्ध पदाधिकारी तथा सदस्यको बैठकले सञ्चारमाध्यममा न्यूनतम पारिश्रमिक कार्यन्वयन गराउन अभियानका रुपमा सञ्चालन गर्ने निर्णय गरेको सचिव प्रभात चलाउनेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
बैठकले न्यूनतम पारिश्रमिक कार्यान्वयन गराउनका लागि सोमबार काठमाडौँ उपत्यकाका जिल्ला शाखा, प्रतिष्ठान शाखा र एसोसिएट शाखाका पदाधिकारी, सभासद् तथा सदस्यको सहभागितामा भेला गर्ने निर्णय गरेको छ ।