संविधान कार्यान्वयन गर्न नसके परिवर्तनका उपलब्धि निरर्थक : घिमिरे

नेपाली कांग्रेसका युवा नेता गुरुराज घिमिरे अहिले नेपाली कांग्रेसको मात्र होइन, नेकपा एमाले, माओवादी र मधेसवादी दलको पनि ध्यान संविधान कार्यान्वयनतिर नै हुनुपर्नेमा जोड दिनुभएको छ । उहाँले भन्नुभयो, सबै दलको पहिलो एजेण्डा नै संविधान कार्यान्वय बन्नुपर्छ भन्ने मेरो मान्यता छ । अहिले देखिएका असमझदारीलाई समेत अन्त्य गरेर अघि बढेको अवस्थामा मात्र हामी निष्कर्षमा पुग्न सक्छौँ । अहिले विभिन्न दललले आ–आफ्नै खालमा माग अघि सारेका छन् । ती सबै दलका यथोचित माग पूरा गरेर अघि बढेको खण्डमा संविधान कार्यान्वय गर्न कुनै समस्या छैन ।
नेता घिमिरेले तराई–मधेस केन्द्रित दलहरुका यथोचित माग पूरा गरेर जानुपर्ने अवस्था छ भन्दै भन्नुभयो, उनीहरुका मागको यथोचित सम्मान भएन भने संविधान कार्यान्वयन गरेर अघि बढ्न मुस्किल छ । त्यति मात्र होइन संसद्को दोस्रो ठूलो दल नेकपा एमाले अहिले प्रतिपक्षमा छ । त्यो दललाई पनि साथमा लिएर जानु पर्ने जिम्मेवारी छ । अहिले सबै राजनीतिक दलको काँधमा आएको जिम्मेवारी भनेको संविधान कार्यान्वयन नै हो । हामीले युगान्तकारी परिवर्तनलाई संस्थागत गर्ने चरणमा हामीले संविधान जारी गरेका छौँ । जारी भएको संविधानलाई हामीले कार्यान्वयन गर्न सकेनौ भने अहिलेसम्मको परिवर्तनको प्रक्रिया नै निरर्थक हुन्छ । परिवर्तनलाई संस्थागत भएको देख्न नचाहने, परिवर्तन नै देख्न नचाहने, नेपालमा राजनीतिक अस्थिरता कायम राख्न चाहने, राजनीतिका ती पूराना हिमायती हुन वा लोकतन्त्र विरोधी नै किन नहुन यी शक्तिहरुको बाधा–अवरोधलाई निस्तेज पार्न पनि हामीले संविधान कार्यान्वय गर्नुपर्ने बाध्यता छ ।
मुलुकका लागि देखिएको चुनौती सामना गर्न सबै राजनीतिक दल एक ठाउँ आउनुको अर्को विकल्प नै छैन भन्दै उहाँले भन्नुभयो, नेताको व्यक्तिगत स्वार्थ, पार्टीको स्वार्थ सबै कुरा भन्दा मागि उठेर संविधान कार्यान्वय गर्ने कुरामा सबै दल लाग्नुपर्छ । त्यसरी लागियो भने संविधान जारी गर्न कुनै मुस्किल छैन । त्यो क्षमता हामीसँग छ । उच्च आत्मविश्वासका साथ सबै राजनीतिक दलहरुबीच उच्चस्तरको समझदारी हामीले कायम गर्नुपर्छ । यो भयो भने मात्र संविधान जारी छ ।
‘एमालेलाई पनि साथमै लिएर अघि बढ्नुपर्छ । यसको अर्को विकल्प छैन । संविधान जारी भएपछि दलहरुबीच जुन खालको समझदारी हुनुपर्ने हो त्यो नभएकाले समस्या देखिएको हो । अब त्यो समस्यालाई थाती राख्नु हुँदैन । संविधान कार्यान्वयनका लागि एमालेको सहयोग अत्यन्न आवश्यक छ । एमालेको सहयोग विना नेपालको राजनीतिलाई अघि बढाउन सकिन्न । अरु राजनीतिक दलहरुको मात्र सहयोगले मात्र अघि बढ्न सकिन्न । त्योसँगै तराई–मधेस केन्द्रित दललाई पनि साथमै लिएर अघि बढ्नुपर्छ ।’ नेता घिमिरेले भन्नुभयो ।
भदौ १३ गते ।