काठमाडौँ— नौबीसे सुरुङमार्ग बनाउन जापानले १८ अर्ब रुपियाँ सहयोग गर्ने

काठमाडौँ । काठमाडौँ— नौबीसे सुरुङमार्ग बनाउन जापानले नेपाललाई १८ अर्ब रुपियाँ सहयोग गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपालको तीनदिने औपचारिक भ्रमणमा रहनुभएका जापानका विदेश राज्यमन्त्री नोबु किसाइले आज प्रधानमन्त्री कार्यालयमा शिष्टाचार भेट गर्ने क्रममा सो कुराको जानकारी दिनुभएको हो ।
सो अवसरमा प्रधानमन्त्री दाहालले जापानले गर्दै आएको सहयोगको सरहाना गर्दै आगामी दिनमा दुई देशबीचको सम्बन्ध प्रगाढ बन्दै जाने विश्वास व्यक्त गर्नुभएको थियो ।
प्रधामन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार प्रधानमन्त्रीले नेपाल संविधान जारी गरेसँगै मुलुक स्थिरता र विकासको बाटोमा अगाडि बढेको उल्लेख गर्दै विकास निर्माणमा सघाउन आग्रह गर्नुभएको थियो ।
प्रधानमन्त्री दाहालले काठमाडौँ–नौबिसे सुरुङ मार्ग निर्माणका लागि ठूलो रकम आवश्यक पर्ने भएकाले त्यसमा जापान सरकारको सहयोगको अपेक्षा गर्नुभएको थियो ।
जापानका राज्यमन्त्री नोबु किसाइले नेपालले संविधान घोषणा गरेकोमा बधाई ज्ञापन गर्दै संविधान कार्यान्वयन, शान्ति प्रक्रिया, पुनःनिर्माण र सम्वृद्धिका लागि प्रधानमन्त्रीले अघि बढाउनुभएको कार्ययोजनाको प्रशंसा गर्दै नेपालको हितप्रति जापानको साथ र सहयोग रहने बताउनुभयो ।
राज्यमन्त्री किसाइले काठमाडौँ नौबिसे सुरुङ मार्ग निर्माणका लागि सहयोग गर्न प्रधानमन्त्रीले राख्नुभएको प्रस्तावप्रति समर्थन गर्दै जापानको तर्फबाट रु १८ अर्ब बराबरको सहयोग दिलाउन प्रक्रिया अघि बढाउने जानकारी गराउनुभएको थियो ।