नेपाल अफ्रिका चलचित्र महोत्सव सम्पन्न

काठमाडौँ । तीन दिनदेखि काठमाडौँमा जारी ‘नेपाल अफ्रिका फिल्म फेस्टिबल–२०१६’ आज सम्पन्न भएको छ ।
‘अफ्रिकीको आँखाबाट अफ्रिका’ भन्ने ‘थिम’ सहित कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेसन (सिजेएमसी) ले उक्त फिल्म महोत्सव आयोजना गरेको थियो ।
समापन कार्यक्रममा नेपाली चलचित्रका नायक राजेश हमालले नेपाल र अफ्रिकाबीच चलचित्र प्रदर्शनीको आदानप्रदानले अफ्रिकी मुलुकले नेपालको र नेपालले अफ्रिकी मुलुकको संस्कृति, रहनसहन, जीवनशैलीबारे जान्ने र सिक्ने मौका मिलेको बताउनुभयो ।
सिजेएमसीका प्रमुख डा मञ्जु मिश्रले पाँचौँ वर्षसम्म आइपुग्दा फिल्म महोत्सवमा अफ्रिकी मुलुक र नर्वेको सहयोग महत्वपूर्ण रहेको बताउँदै आगामी दिनमा पनि उक्त साथ र सहयोग रहने अपेक्षा राख्नुभयो ।
महोत्सवमा नेपाली चलचित्र ‘मसान’ सहित सात अफ्रिकी मुलुकका चलचित्र प्रदर्शनी गरिएका थिए । महोत्सवको अन्तिम दिन आज प्रदर्शनी गरिएको इजिप्टको ‘डोआ अजिजा’ चलचित्रमा २४ वर्षीया महिलाले आफ्नो मुलुकप्रति दर्शाएको प्रेमलाई मुख्य विषयवस्तु बनाइएको छ ।
यसैगरी अल्जेरियाको ‘रचिडा’ ले द्वन्द्वरत मुलुकमा एक विद्यालयकी छात्रालाई कसरी आतङ्ककारीले साथै लगेर आतकंकारी गतिविधिमा संलग्न गराउँछ र अन्त्यमा कस्तो उपायबाट ती छात्रा उम्किन सफल हुन्छिन् भन्ने कथालाई देखाउन खोजेको छ ।
अन्तिममा साहित्यकार गोपालप्रसाद रिमालद्वारा लिखित तथा नीर शाहले निर्देशन गरेको नेपाली चलचित्र ‘मसान’ देखियो । जसमा छोराका लागि पतिलाई अर्की महिलासँग विवाह गर्न बाध्य पार्ने पत्नीले जब पतिकै कारण आफूले सन्तान जन्माउन नसकेको थाहा हुन्छ तब उनले घर नै छाडेको कथा देख्न सकिन्छ ।