सरकारमा जाने–नजाने विवादले गच्छदारको पार्टी फूटको संघारमा

bijay
काठमाडौँ । सँधैभरी सत्ताको स्वाद चाख्दै आएका मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) अध्यक्ष विजयकुमार गच्छदार यो पटक भने निकै अप्ठ्यारोमा पर्नुभएको छ ।  पार्टीमा सबैलाई पाखा लगाए आफूमात्र सत्ताको स्वाद चाख्ने गच्छदारलाई पार्टी भित्रैबाट तीव्र दबाब परेपछि अहिले उहाँको सत्तामा जाने सपना अधुरो बनेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेका बेला अन्तिममा धोका दिएर प्रचण्डको शरणमा पुग्नुभएका गच्छदारलाई  कांग्रेस–माओवादी गठबन्धनको सरकारले नरुचाएपछि उहाँले पार्टीबाटै सकैलाई पनि मन्त्री बन्न नदिने खेल सुरु गर्नुभएको थियो । तर, अहिले गच्छदार नभए अरु भए पनि सरकारमा जानु पर्ने मत पार्टीमा बढ्दै एपछि उहाँ एक्लो बन्नुभएको हो । अहिले त्यो पाटीमा सरकारमा जाने–नजाने विषयलाई लिएर मधेसी जनअधिकार फोरम ९लोकतान्त्रिक० मा चरम विवाद सुरु भएको छ ।
व्यवस्थापिका–संसदमा १४ जना सांसद रहेको सो पार्टीका अध्यक्ष विजयकुमार गच्छदार सरकारमा आफूले नेतृत्व गर्न पाए मात्र जाने अडानमा हुनुहुन्छ तर, बहुमत सांसद भने अध्यक्षको सम्भावना नभए अन्य सांसदलाई मन्त्री बनाएर पठाउनुपर्ने अडानमा रहेपछि विवाद सुरु भएको हो । त्यसो त केन्द्रीय कार्यसम्पादन समितिको बैठकले समेत सम्मानजनक ढंगले सरकारमा सहभागी हुने निर्णय गरेको भन्दै गच्छदार बाहेकका अधिकांश नेता सरकारमा जाने पक्षमा छन् ।  फोरम लोकतान्त्रिकका नेता जीतेन्द्रनारायण देव पनि गच्छदारले पार्टीलाई बन्दक बनाएको दाबी गर्नुहुन्छ । उहाँले घुमौरो पाराले गच्छदारलाई आरोप लगाउनुभयो । ‘अहिले केही साथीहरु सम्मानजनक सहभागिता भनेको उपप्रधान वा मालदार मन्त्रालय मात्रै हो भन्नेमा हुनुहुन्छ,’ उहाँले भन्नुभयो ‘विवाद त्यही विषयमा भएको हो । अहिलेको गठबन्धन फोरम लोकतान्त्रिकले निर्माण गरेको नभई कांग्रेस–माओवादीले गरेको भएकाले केही एक वा दुई मन्त्रालयसहित सरकारमा सहभागी हुँदा पनि सम्मानजनक सहभागिता हुन्छ ।’  उहाँले कांग्रेस–माओवादीको गठबन्धन बन्दा आफूहरु केपी ओली नेतृत्वको सरकारमा रहेको भन्दै अन्तिम समयमा मात्र ओली नेतृत्वको सरकार छाडेर आएको भएकाले सम्मानजनक भन्दै मालदार मन्त्रालय माग्न नमिल्ने दाबी गर्नुृभयो ।
उहाँले सरकारमा बसेर राजनीतिक भूमिका खेल्न जतिसक्दो छिटो सरकारमा सहभागी हुनुपर्ने दाबी गर्नुभयो । ‘अहिले अध्यक्षले आलटाल गर्नुभएको छ,’ उहाँले भन्नुभयो ‘उहाँले किन यसो गर्नुभएको हो मैले बुझेको छुइनँ । हामी मन्त्री भएर तलब खान वा कर्मचारी बन्न जाने होइन, राजनीतिक भूमिका खेल्न जाने हो । तर, अध्यक्षले निर्णय नगर्दा समस्या उत्पन्न भएको छ ।’
नेता देवले प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि पार्टी अध्यक्ष गच्छदारले निर्णय नलिए चुप लागेर नबस्ने चेतावनी पनि दिनुभयो । उहाँले एकहप्तासम्म पर्खिने भने पनि त्यो समयसीमा सकिएकाले छिटै पार्टीले निर्णय गर्ने दाबी गर्नुभयो । प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि अध्यक्षले निर्णय नलिए हामी नयाँ ढंगले सोच्न बाध्य हुने पनि चेतावनी दिनुभयो । ‘आशा गरौँ अध्यक्षले यो मर्मलाई बुझेर छिटै निर्णय गर्नहुन्छ, ’ उहाँले भन्नुभयो ।