‘पर्यटनको विकास गर्न संस्कृतिको जगेर्ना गर्नुपर्ने’

भक्तपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले संस्कृतिको जगेर्ना नगरी पर्यटनको विकास नहुने बताउनुभएको छ ।
नगदेश सांस्कृतिक पुचः ले आज यहाँ आयोजना गरेको महाकाली नाचका कलाकार एवम् सहयोगीलाई अभिनन्दन कार्यक्रममा उहाँले परम्परागत नाच, कला र संस्कृति जोगाउन सके मात्रै पर्यटकको आगमनमा वृद्धि हुने बताउनुभयो ।
कार्यक्रममा मन्त्री शाहीले महाकाली नाचका कलाकार एवम् नाच सञ्चालनमा सहयोग गर्ने व्यक्ति तथा संस्थालाई ताम्रपत्रसहित दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।
सो अवसरमा संस्कृतविद् सत्यमोहन जोशीले कला, संस्कृति जोगाउन युवा पुस्ता अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा पुचः का सचिव विनोद कोजू, कोषाध्यक्ष कृष्णबहादुर धजुँ, योगेन्द्रकुमार दुवाल, भक्तबहादुर धजँुलगायतले संस्कृति जोगाउन सबै लाग्नुपर्ने बताउनुभयो । महाकाली नाचको संरक्षण एवम् निरन्तरताका लागि सञ्चालनमा ल्याइएको अक्षयकोषमा रु छ लाख ५० हजार ६०२ सङ्कलन भएको सो अवसरमा जानकारी दिइयो ।