पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले दिए काम नगर्ने मेयर र प्रदेश मन्त्रीलाई कारबाही गर्ने धम्की
काठमाडौँ, २२ असार । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जनताको काम नगर्ने र नागरिकलाई दुःख दिने स्थानीय तहका प्रमुख (मेयर) देखि प्रदेश मन्त्रीसम्मलाई कारबाहीको दायरामा ल्याउने चेतावनी दिएका छन्। आइतबार तनहुँको शुक्लागण्डकी नगरपालिका–५, दुलेगौँडामा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को भेटघाट कार्यक्रममा उनले यस्तो चेतावनी दिएका हुन्।
सम्बोधनका क्रममा मन्त्री लम्सालले भने, “यदि कुनै मेयरले जनताको काम गर्नुभएन र नागरिकलाई अपहेलना गर्नुभयो भने हामीलाई जानकारी दिनुहोस्, हामी आवश्यक कारबाही गर्छौँ। प्रदेशका मन्त्रीले पनि त्यस्तै गैरजिम्मेवार व्यवहार गरे भने उनीहरूलाई पनि थुन्छौँ।” उनले जसरी पनि जनअपेक्षा अनुसार काम हुनुपर्नेमा जोड दिए।
यसअघि मन्त्री लम्सालले काम नगर्ने ठेकेदारहरूको ‘खुट्टा भाँच्ने’ भनी दिएको अभिव्यक्ति विवादित बनेको थियो। सो अभिव्यक्तिको सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा चर्को आलोचना भएको थियो। मन्त्री लम्सालले मन्त्री र मेयरलाई कारबाही गर्ने चेतावनी दिएको भिडियो क्लिप पनि अहिले सामाजिक सञ्जालमा निकै साझा भइरहेको छ।