कोसीमा डुंगा पल्टँदा बेपत्ता हुनेहरुको खोजी जारी, ३७ जनाको उद्धार

सुनसरी । कोसी नदीमा डुंगा पल्टँदा बेपत्ता भएकाको खोजी आज पनि जारी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बेपत्ता हुनेमा महिला र बालबालिका बढी छन् । प्रहरीले उद्धार गरिएका यात्रु र गाउँलेका अनुसार नौजना बेपत्ता भएको प्रहरीको भनाइ छ । बेपत्ता हुनेमा सुनसरी महेन्द्रनगर–५ की सात वर्षीया छोरी रेखा, २५ वर्षीया मीना झा, तीन वर्षीय पुजन झा, प्रकाशपुरकी पार्वती चन्द्रवंशी, महेन्द्रनगरकी शकुन्तला चन्द्रवंशी, नाम नखुलेकी उनकी १२ बर्षीया छोरी, डुंगा चालक प्रकाशपुरका तुफानी चन्द्रवंशी, सीता कबिरत र महेन्द्रनगर पटवारी उराउकी १४ वर्षीया उनकी छोरी रहेका छन् । यसअघि कति बेपत्ता भए भन्ने यकिन हुन सकेको थिएन ।
करिब ४५ जनाको क्षमता भएको डुंगामा ६० जना यात्रु चढेको अनुमान गरिएको थियो । विराटनगरस्थित पूर्वक्षेत्रीय प्रहरी कार्यालयका अनुसार सुनसरीको महेन्द्रनगर–५ प्रकाशपुरस्थित कोसी नदीमा शनिबार पल्टिएको डुंगाबाट ३७ जनाको उद्धार गरिएको थियो ।
डुंगा श्रीलंका टापुबाट राजाबास आउँदै गर्दा दुर्घटनामा परेको थियो । शनिबार डुंगामा सवार एक वर्षीय बालकसहित ३७ जनाको उद्धार गरिएको थियो ।
आज बिहानैदेखि बेपत्ताहरुको खोजी सुरु गरिएको छ । नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको सहभागितामा खोजी कार्य भइरहेको सुनसरी प्रशासनले जनाएको छ ।
असोज २ गते ।