एमालेले सात वटै प्रदेशमा कार्यशाला आयोजना गर्ने, महासचिवको संगठनात्मक प्रतिवेदन पारित

amale-party-karyalaya
काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय कमिटीको सातौ“ बैठकले महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रतिवेदन पारित गरेको छ । बैठकमा महासचिव पोख्रेलले प्रतिवेदन पेस गर्नु भएको थियो । बैठकमा करिब दुई दर्जन केन्द्रीय सदस्यहरुका सुझावसहित प्रतिवेदन पारित भएको एमाले प्रचार विभाग प्रमुख एव्म सचिव योगेश भट्टराईले जानकारी दिनुभयो ।
प्रतिवेदनमा प्रकाश ज्वाला, ठाकुर गैरे, डा. विजय पौडेल, देवशंकर पौडेल, विक्रम शाही, श्रीप्रसाद साह, सूर्य थापा, सानुकुमार श्रेष्ठ, चुडामणि जंगली, खगेन्द्र राई, रुपनारायण श्रेष्ठ, प्रतापलाल श्रेष्ठ, जगत् विश्वकर्मा, खगेन्द्र चुँडाल, खिमलाल भट्टराई, रविन कोइराला, सुजिता शाक्य, रामकुमारी झाँक्री, बेदुराम भुसाल, किरण गुरुङ, राजेन्द्र पाण्डे र गोविन्द नेपालीले मौखिक तथा लिखित सुझाव दिनुभएको थियो ।
प्रतिवेदनमा संगठन सुदृढीकरण तथा परिचालन अभियानका सन्दर्भमा सबै प्रदेश, जिल्ला र जनसंगठनले कात्तिक १५ गतेभित्र आ–आफ्नो क्षेत्रको योजना केन्द्रमा पठाउने, स्थानीय तह पुनःसंरचना आयोगले प्रस्तुत गरेको नीतिगत मान्यता र संविधानको प्रावधान अनुरुप स्थानीय तहको पुनःसंरचनामा स्थानीय कमिटीहरुले समन्वय गर्ने, आफ्ना सुझावहरु आयोग र पार्टी केन्द्रमा पठाउने उल्लेख छ ।
त्यसैगरी प्रतिवेदनमा समयावधि पुगेका जिल्ला तथा जनसंगठनका अधिवेशनहरु तत्काल आयोजना गर्ने, जनसंगठनहरुले तत्कालै प्रदेश कमिटीहरु निर्माण गर्ने, प्रदेश कमिटीहरुमा विभाग, सल्लाहकार परिषद्, जेष्ठ कम्युनिस्ट मञ्च, अनुशासन समिति, लेखा समिति, निर्वाचन समिति निर्माण गरी कार्यकर्ताको जिम्मेवारीको व्यवस्थापन गर्ने पनि उल्लेख छ ।
प्रतिवेदनमै स्थानीय तहमा देखिएका अन्तरविरोधहरु हल गर्ने, प्रभावकारी प्रचार अभियानमा जोड दिने, संगठन र स्वयम्सेवक तयार गरेर निर्वाचनको तयारीमा जुट्ने, प्रत्येक प्रदेश र जिल्लाले आफ्नो क्षेत्रको समृद्धिको योजना ६ महिनाभित्र तयार गरी केन्द्रमा पठाउने, संगठनात्मक क्षेत्रका समस्या र समाधानका बारेमा सात वटै प्रदेशमा कार्यशाला आयोजना गर्ने, नवौँ महाधिवेशनले पारित गरेको संगठन निर्माणसम्बन्धी प्रस्तावहरुका आधारमा पार्टी संगठन निर्माण तथा परिचालन गर्ने जस्ता कुरा पनि उल्लेख गरिएको छ ।
प्रतिवेदनमा पार्टीमा विधान, नियमावलीले निर्दिष्ट गरेका प्रावधानहरु कडाइका साथ पालना गर्ने, प्रदेश संगठन कमिटीहरुले आ–आफ्नो कार्यालयको व्यवस्थापन तत्कालै गर्ने, पुराना अञ्चल समन्वय कमिटीहरुले आ–आफ्नो प्रतिवेदन तथा चल–अचल सम्पत्तिहरु सम्बन्धित प्रदेश कमिटीलाई हस्तान्तरण गर्ने पनि उल्लेख रहेको पनि भट्टराईले जानकारी दिनुभयो ।
केन्द्रीय कमिटीको अर्को बैठक मंगलबार अपरान्ह ३ बजे केन्द्रीय कार्यालय, धुम्बराहीमा बस्नेछ । त्यसलगत्तै ५ बजे केन्द्रीय कार्यालयमै पत्रकार सम्मेलन आयोजना गर्ने तयारी पार्टीले गरेको छ ।

असोज १० गते ।