पूर्वमा मनसुनी वर्षा, पश्चिमका तराईमा ‘लु’ को सास्ती

काठमाडौँ, १० असार । नेपालमा मनसुनी वायुको प्रभाव क्रमशः विस्तार हुँदै गए पनि देशको पश्चिमी भेगमा भने अझै अत्यधिक गर्मी र तातो लहर (लु) को जोखिम कायमै रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश र बागमती प्रदेशका सबै क्षेत्र, गण्डकीका केही भाग र लुम्बिनीको पूर्वी तराईमा मनसुन सक्रिय छ।

अन्य भू-भागमा भने पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भेगका एक-दुई स्थानमा पनि वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। कोशी प्रदेशको तराई र मधेश प्रदेशका केही स्थानमा पनि पानी पर्ने सम्भावना छ। यद्यपि, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई भेगमा भने आज मौसम मुख्यतया सफा रहनेछ, जसका कारण ती क्षेत्रमा गर्मी अझै बढ्ने देखिएको छ।

महाशाखाले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा ‘तातो लहर’ (लु) चल्ने सम्भावना रहेको भन्दै विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। साथै, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा पनि तापक्रम बढ्ने र ‘तातो दिन’ हुने प्रक्षेपण गरिएको छ। अत्यधिक गर्मीले जनजीवन प्रभावित हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।

आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भेगमा वर्षाको सम्भावना छ भने बागमती, मधेश र कोशीको तराईका एक-दुई स्थानमा मेघगर्जनसहित पानी पर्न सक्नेछ। देशका उच्च हिमाली भेगमा हल्का हिमपातको सम्भावना समेत रहेको छ।