रोनाल्डोको कीर्तिमानी दुई गोलमा पोर्चुगलको शानदार जित
काठमाडौं, असार १० । कप्तान क्रिस्टियानो रोनाल्डोको दुई गोल प्रेरित पोर्चुगलले फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा उज्बेकिस्तानलाई ५–० ले पराजित गरेको छ।
ह्युस्टन स्टेडियममा मंगलबार भएको खेलमा पोर्चुगलले सुरुदेखि नै दबाब कायम राख्दै सहज जित निकालेको हो। खेलको छैटौं मिनेटमा रोनाल्डोले जोआओ क्यान्सेलोको क्रसलाई सदुपयोग गर्दै गोल गरेपछि पोर्चुगलले अग्रता लिएको थियो।
१७औं मिनेटमा नुनो मेन्डेसले फ्रिकिकमार्फत गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर बनाए। पहिलो हाफको अन्त्य हुनुअघि ३९औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३–० को मजबुत अवस्थामा पुर्याए।
दोस्रो हाफमा उज्बेकिस्तानका गोलरक्षक उटकिर नेमातोभको आत्मघाती गोलबाट पोर्चुगलले चौथो गोल थप्यो। खेलको ८७औं मिनेटमा राफाएल लियाओले गोल गर्दै पोर्चुगलको ५–० को जित सुनिश्चित गरे।
४१ वर्ष १३८ दिनका रोनाल्डोले उक्त खेलमा दुई गोल गर्दै विश्वकप इतिहासमा नयाँ कीर्तिमान कायम गरे। उनी विश्वकपका छ वटा संस्करणमा गोल गर्ने पहिलो खेलाडी बनेका छन्। साथै, विश्वकपमा गोल गर्ने दोस्रो सबैभन्दा पाका खेलाडीको सूचीमा पनि उनी समावेश भएका छन्। यो सूचीमा क्यामरुनका रोजर मिल्ला पहिलो स्थानमा छन्।
रोनाल्डोको विश्वकपमा यो १०औं गोल हो। यससँगै उनले पोर्चुगलका महान् खेलाडी युसेबियोको नौ गोलको कीर्तिमान तोड्दै विश्वकपमा पोर्चुगलका सर्वाधिक गोलकर्ता बनेका छन्।
लगातार दोस्रो हार बेहोरेको उज्बेकिस्तान भने समूह चरणबाट बाहिरिने खतरा नजिक पुगेको छ। यसअघि कोलम्बियाविरुद्ध पहिलो विश्वकप गोल गरेको उज्बेकिस्तानले पोर्चुगलविरुद्ध पनि गोल फर्काएको थियो। तर फाउलका कारण उक्त गोललाई मान्यता दिइएन।
यस जितसँगै दुई खेलबाट चार अंक जोडेको पोर्चुगल समूह ‘के’ को शीर्ष स्थानमा उक्लिएको छ। उज्बेकिस्तान भने दुई खेलबाट अंकविहीन रहँदै समूहको पुछारमा छ।