उपाध्यक्ष पौडेलको पक्राउ विरुद्ध एमालेले राजनीतिक प्रतिरोध र भण्डाफोर अभियान सञ्चालन गर्ने
काठमाडौं, ९ असार । नेकपा (एमाले) केन्द्रीय सचिवालयको नवौँ बैठक सकिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको बैठकले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीलाई घोर प्रतिशोधपूर्ण, पूर्वाग्रहप्रेरित र गैरकानुनी रहेको ठहर गर्दै त्यसको दृढतापूर्वक प्रतिवाद गर्ने निर्णय गरेको छ।
एमाले महासचिव शंकर पोखरेलले गैरकानुनी गिरफ्तारीको निन्दा गर्दै बिनाकुनै वस्तुपरक तथ्य र प्रमाण, केवल राजनीतिक प्रतिशोध साध्ने कुत्सित मनसायका साथ सम्पत्ति शुद्धीकरणको बहानामा गरिएको गैरकानुनी गिरफ्तारीको पार्टीले राजनीतिक र कानुनी दुवै रूपमा सशक्त प्रतिवाद गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
त्यसैगरी बैठकले अदालती आदेशप्रति पनि असहमति जनाएको छ । ‘राजनीतिक पूर्वाग्रहबाट अभिप्रेरित यस घटनामा विशेष अदालतले पूर्वापक्षका लागि थुनामा राख्न दिएको आदेशसमेत न्यायसम्मत नरहेको ठहर गर्दछ,’ महासचिव पोखरेलले भन्नुभयो, ‘बैठकले पार्टीका उपाध्यक्ष कमरेड विष्णुप्रसाद पौडेललाई बिनासर्त अविलम्ब रिहा गर्न जोडदार माग गरेको छ ।
त्यसैगरी एमालेले पौडेलको गिरफ्तारीविरुद्ध भण्डाफोर अभियान चलाउने पनि निर्णय गरेको छ । ‘राज्य संयन्त्रको यस प्रकारको निरङ्कुश, प्रतिशोधपूर्ण र विभेदकारी कदमका विरुद्ध देशव्यापी रूपमा राजनीतिक प्रतिरोध र भण्डाफोर अभियान सञ्चालन गर्न बैठकले सम्पूर्ण पार्टीपङ्क्ति एवं न्यायप्रेमी जनसमुदायलाई हार्दिक आह्वान गर्दछ,’ उहाँले भन्नुभयो ।