राजस्व संकलन २९ प्रतिशतले वृद्धि

काठमाडौं । आर्थिक वर्ष २०७३÷०७४ भदौ मसान्तसम्मको राजस्व संकलनमा गत वर्षको सोही अवधिको तुलनामा २९ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७३÷०७४ भदौ महिनासम्मको राजस्व संकलनको लक्ष्य २८ अर्व ७५ करोड ६६ लाख ३७ हजार रहेकोमा २८ अर्व ९३ करोड ६ लाख ६५ हजार संकलन भई लक्ष्यको तुलनामा १०१ प्रतिशतको प्रगति भएको छ ।
आन्तिरिक राजस्व विभागका अनुसार शिर्षकगत रूपमा हेर्दा सो अवधिमा आयकर तर्फ १२ अर्व २१ करोड ९७ लाख ८६ हजार, मूल्य अभिवृद्धि कर १० अर्व ४५ करोड २ लाख ३५ हजार र अन्तःशुल्क तर्फ ५ अर्व ९१ करोड ६५ लाख ८८ हजार संकलन भएको छ । सो रकम लक्ष्यको तुलनामा आयकर तर्फ १०३ प्रतिशत, मूल्यअभिवृद्धि कर तर्फ ९८ प्रतिशत र अन्तशुल्क तर्फ १०१ प्रतिशत हो ।
त्यसैगरी शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा कर क्रमशः १३ करोड ८३ लाख ७१ हजार र रु. २० करोड ५६ लाख ८५ हजार संकलन भएको छ । शिक्षा सेवा शुल्क तर्फ लक्ष्यको तुलनामा १०२ प्रतिशत र स्वास्थ्यसेवा कर तर्फ लक्ष्यको तुलनामा ७९ प्रतिशत संकलन भएको छ । गत वर्षको तुलनामा आयकर वृद्धिदर १३६ प्रतिशत, मूल्य अभिवृद्धि कर वृद्धिदर ११४ प्रतिशत, अन्तशुल्कको वृद्धिदर १४९ प्रतिशत, स्वास्थ्य सेवा कर वृद्धिदर १२३ प्रतिशत र शिक्षा सेवा शुल्क वृद्धिदर १३७ प्रतिशत रहेको छ ।

असोज १० गते ।