पूर्वराजा ज्ञानेन्द्रले १५ वर्षपछि पचली भैरबमा खड्ग चढाउनुभयो,स्थानीयवासीव्दारा भव्य स्वागत

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले आइतबार राजाकै हैसियतमा पचली भैरबमा खड्ग चढाउनुभएको छ । परम्परा अनुसार प्रत्येक १२ वर्षमा खड्ग चढाउने गरिन्थ्यो । देशमा राजा नभएपछि खड्ग कसले चढाउने भन्ने विवाद र अन्योल हुँदा यस पटक १५ वर्षपछि पूर्वराजा ज्ञानेन्द्रले नै खड्ग चढाएका हुन् ।
पूर्वराजा ज्ञानेन्द्रका प्रेस सल्लाहकार फणिराज पाठकका अनुसार पचली भैरबका गुठियाहरुको आग्रहमा पूर्वराजाले नै खड्ग चढाउनुभएको हो । ‘स्थानीय गुठियारले राजाकै हैसियतमा आमन्त्रण गरेपछि ज्ञानेन्द्र सहभागी भएर खड्ग चढाउनुभएको हो ।
यस अघि २०५८ मा ज्ञानेन्द्रले राजा भएकै समयमा खड्ग चढाउनुभएको थिया । खड्ग चढाउने क्रममा पूर्वराजा ज्ञानेन्द्रलाई स्थानीयवासीले भव्य स्वागत गरेका छन् । ज्ञानेन्द्र गणेस्थानदेखि पचलीभैरवसम्म पैदल जानुभएको थियो ।
पचली भैरबमा खड्ग चढाएमा दैवी शक्ति प्राप्त हुने र शुभकार्य हुने विश्वास गरिन्छ । पचली भैरबमा खड्ग चढाएसँगै ज्ञानेन्द्रले सवालाख बत्ती समेत बाल्नुभयो ।
यसै अवसरमा पचली भैरबमा जात्रा समेत हुने गर्दछ । यो जात्रा मल्ल राजा गुणकामदेवको पालदेखि सुरु गरिएको हो ।
असोज १६ गते ।