संविधान संशोधनको हल्ला चलाएर एमालेमाथि प्रहार गर्ने षडयन्त्र भइरहेको छ – महासचिव पोखरेल

??????????????????????????????????????????????????????????

काठमाडौँ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी सरकारमा रहँदा गरेको निर्णय कार्यान्वयन गराउन खबरदारी गर्ने बताउनुभएको छ ।
महासचिव पोखरेलले विजयादशमी, दीपावली, छठ, नेपाल संवतलगयतका पर्वका अवसरमा आज यहाँ आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा पार्टी सरकारमा रहँदा गरेको निर्णय कार्यान्वयन गराउन देशव्यापी रुपमा खबरदारी गराउने बताउनुभयो ।

सरकारमा नहुँदा पनि पार्टीको मिसन नबदलिएको उल्लेख गर्दै उहाँले थप्नुभयो –“संविधान कार्यान्यवन गर्ने, राष्ट्रिय स्वाभिमानले उठेको शिर झुक्न नदिने, छिमेकीहरुसितको शताब्दीदेखिको असन्तुलित सम्बन्ध सन्तुलित बनाउने, परनिर्भर नभई आत्मनिर्भर हुनुपर्छ भन्ने मिसन अहिले पनि कायम छ ।”

उहाँले चाडपर्वका अवसरमा पनि पार्टीका विचारका पक्षमा छलफल गर्ने उल्लेख गर्दै चाडपर्वहरु कुनै एक जाति, धर्म सम्प्रदाय, क्षेत्रबीच मात्र नभई सबैको साझा सम्पत्ति भएको हुँदा पुर्खाले निर्माण गरेका सम्पत्तिको रक्षा गर्नु सबैको कर्तव्य भएको धारणा राख्नुभयो ।एमाले महासचिव पोखरेलले संविधान कार्यान्वयनमा अवरोध गरी राजनीतिक कोर्ष परिवर्तन गर्ने षडयन्त्र भएको वताउँदै त्यसप्रति आफ्नो पार्टी सजग रहेको बताउनुभयो ।

‘संविधान कार्यान्वयन गरी मलुकलाई आर्थिक विकासको दिशामा लैजाने एमालेको मिशन बदलिएको छैन’ पोखरेलले भन्नुभयो, ‘संविधान कार्यान्वयनमा अवरोध गरी राजनीतिक कोर्ष परिवर्तन गर्ने षडयन्त्र भइरहेको छ, त्यसप्रति हामी सजग छौं ।’ सरकार छोडेर प्रतिपक्षमा रहेपछि एमालेको मोर्चा बदलिएको तर, मिशन उही रहेको वताउनुभयो ।

‘मोर्चा बदलिएको छ, मिशन उही छ’ पोखरेलले भन्नुभयो, ‘संविधान कार्यान्वयन, देशको आर्थिक विकास र प्रगतिको मिशन बोकेर एमाले अघि बढ्छ ।’ संविधान संशोधनको प्रोपोगाण्डा मात्रै चलाएर एमालेलाई मधेसी र जाजाति विरोधीका रुपमा चित्रण गर्न खोजिएको भन्दै पोखरेलले संविधान संशोधनको औचित्य माग्न खोज्दा सत्तारुढ दलहरुले औचित्य प्रस्तुत गर्न नसकेको वताउनुभयो । ‘संविधानको कुन धारा के का लागि संशोधन गर्नु पर्ने हो हामीसँग कुनै प्रस्ताव आएको छैन’ पोखरेलले भन्नुभयो, ‘संशोधनको हल्ला चलाएर एमालेमाथि प्रहार गर्ने ठाउँ मात्रै खोजिएको देखिन्छ ।’

असोज १७ गते ।