जीवित देवी कुमारीको सहज दर्शन गर्न पाउने

maitrinews

काठमाडौँ, २२ असोज । वसन्तपुरस्थित कुमारीघरमा जीवित कुमारीको दर्शनका लागि आजदेखि सर्वसाधारणलाई सहज रुपमा खुला गरिएको छ ।

प्रत्येक वर्ष दसैंको सप्तमीका दिनदेखि कोजाग्रत पूर्णिमासम्म भक्तजनले कुमारीको सहज दर्शन गर्नका लागि समयावधि बढाउने गरिन्छ ।

बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म कुमारीघरमा रहनुभएकी कुमारीको दर्शन गर्न सकिने कुमारीका सहयोगी एवम् इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतमरत्न शाक्यले जानकारी दिनुभयो ।

सामान्य अवस्थामा बिहान ९ देखि १२ बजेसम्म तथा साँझ ४ देखि ६ बजेसम्म दर्शनको व्यवस्था मिलाइएको थियो ।

सोमबार नवमीको दिन मध्यरातमा कुमारीलाई तलेजु भवानीको दर्शन गर्न लगिने परम्परा छ ।