अब के होला थाई राजनीति ? — आर शर्मा

थाइल्यान्डका लोकप्रिय राजा भूमिबल अदुल्यादेजको निधनपछि त्यहाँको राजनीतिक भविष्यबारे विभिन्न टिकाटिप्पणी,अड्कलबाजी र अनुमान सुरु भएको छ । अब मुलुक सङ्कटमा परेका बेला राजा भूमिबललेजस्तै सही नेतृत्व र निकास कसले दिनसक्छ भनी धेरैलाई चासो र चिन्ताले सताउन थालेको छ । पछिल्लो समय दुई वर्षदेखि सैनिक शासनमा रहेको यो मुलुकमा अब नागरिक सत्ता कसरी र कहिलेसम्म स्थापना हुनसक्छ ? प्रश्न अनुत्तरित छ ।
इनलक सिनावात्राको निर्वाचित सरकारलाई अपदस्थ गरी सत्ता हातमा लिएको सैनिक नेतृत्वले मुलुकमा राजनीतिक अवस्था सहज भएपछि छिटोभन्दा छिटो नयाँ निर्वाचित नागरिक सरकारलाई सत्ता हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो । सैनिक सरकारले त्यहाँको पुरानो संविधान खारेज गरी नयाँ संविधान बनाई जनमत सङ्ग्रहमार्फत् अनुमोदन गराएको छ । नयाँ संविधान अनुसार आगामी एक वर्षभित्र आमनिर्वाचन गराई निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने भनी सैनिक नेतृत्वले भने पनि राजा भूमिबलको निधनले एक वर्षभित्र आमनिर्वाचन हुने सम्भावना टरेको छ । सरकारले एक वर्षसम्म शोक मनाउने घोषणा गरेको छ ।
विश्कमै सबैभन्दा लामो समय शासन गर्ने राजा बन्नु भएका भूमिबलको शासन कालमा थाइल्यान्डमा धेरै पटक सैनिक कु भयो,राजनीतिक अस्थिरता भयो तर उहाँले सधैँ राजनीतिक स्थिरता र प्रजातन्त्रको पक्षमा काम गर्नुभयो । सेना र राजनीतिक दलहरुबीच राजनीतिक तनाव र विवाद चुलिएको कतिपय अवस्थामा आफैले हस्तक्षेप गरी विवाद साम्य पार्दै राजनीतिक स्थिरता कायम गर्र्नुभएका उहाँले आफूलाई सधै राजनीतिभन्दा माथि अभिभावकका रुपमा राख्नुभयो जसले गर्दा उहाँ सबैका प्रिय बन्नुभयो ।
थाई राजतन्त्रलाई आस्था र भरोसाको केन्द्र बनाउन सफल भूमिबलले राष्ट्र र जनताको हितलाई सर्वोपरि राख्दै संवैधानिक राजतन्त्रको अभ्यासलाई निरन्तरता दिनुभयो । उहाँले सङ्कटका बेला पनि सत्ता हातमा लिएर निरङ्कुश राजतन्त्र चलाउने सोच कहिल्यै बनाउनु भएन जसले गर्दा राजसंस्थाप्रतिको आस्था र भरोसा बढ्यो ।
भूमिबलका कारण थाइल्यान्डमा संवैधानिक राजतन्त्र लोकप्रिय बन्यो तर त्यहाँका राजनीतिक दलहरु भने लोकप्रिय बन्न सकेनन् । बारम्बार आन्तरिक विवाद, अन्तरसङ्घर्ष, द्वन्द्व र भ्रष्टाचारमा मुछिएकाले सेनाले पटक पटक हस्तक्षेप गरी सत्ता हातमा लिने र परिस्थिति सहज बनेपछि निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्दै आएको छ । सैनिक नेतृत्वले पनि लामो समय सैनिक निरङ्कुशता लाद्न चाहेन र राजसंस्थाले पनि संवैधानिक दायराभन्दा बाहिर जान नचाहेकै कारण जनताको दृष्टिमा दलहरुभन्दा राजसंस्था र सेना भरपर्दो माध्यम बन्न पुगे ।
प्रजातन्त्रमा राजनीतिक दलहरु नै प्रमुख र निर्णायक शक्ति बन्नुपर्छ । तर थाइल्यान्डमा दलहरुकै कमजोरीका कारण प्रजातान्त्रिक पद्धतिले अपेक्षित गति लिन सकेन । बारम्बार दलीय सत्तामाथि सेनाले र कतिपय अपस्थामा राजाले नै हस्तक्षेप गर्नुपर्ने अवस्था आयो । यो दुःखद् पक्ष हो । थाइल्यान्डमा दलहरु शासन गर्न किन सक्षम हुन सकेनन् ? गम्भीर समीक्षा गर्नुपर्ने बेला भएको छ ।
राजा भूमिबलको जन्म सन् १९२७ को डिसेम्बर ५ मा अमेरिकाको म्यासाचुसेट्को क्याम्ब्रिजमा भएको थियो । उहाँको जन्म हुँदा उहाँका पिता महिदोल अदुल्यादेज हार्बर्ड विश्वविद्यालयमा अध्ययनरत हुनुहुन्थ्यो । उहाँ दुई वर्षको हुँदा पिता महिदोलको निधन भएपछि उहाँको परिवार थाइल्यान्ड फर्कियो । सन् १९३२ मा थाइल्यान्डमा राजतन्त्र संवैधानिक बन्यो । भूमिबलका काका तत्कालीन राजा प्रजाधिपोकले सन् १९३५ मा गद्दी त्यागेपछि राजतन्त्रमाथि धक्का लाग्यो । त्यसपछि भूमिबलका दाजु आनन्दले गद्दी सम्हाल्नुभयो । सन् १९४६ मा दरबारमा भएको गोलीकाण्डमा आनन्द मारिएपछि १८ वर्षको उमेरमा भूमिबल राजा बन्नुभयो । उहाँ राजा बनेको सात वर्षसम्म त्यहाँ राजा नाममात्रको थियो भने सत्ता सेनाले चलाएको थियो । त्यसपछि उहाँले संवैधानिक राजाको हैसियतले आफ्नो भूमिका बढाउनुभयो । कूटनीतिक क्षमता र सर्वसाधारण जनतासमक्ष पुग्नसक्ने र उनीहरुका दुःख,कष्ट बुझी समस्या समाधान गर्न प्रयास गरेकै कारण साथै सङ्कटका बेला देशलाई जोगाएकै कारण भूमिबलको शासनकाल ठूलो विवादमा फसेन । उहाँप्रति जनआस्था र विश्वास बढ्दै गयो ।
थाइल्यान्डमा गत अगस्त ७ मा जनमत सङ्ग्रह गरी सेनाद्वारा निर्मित नयाँ संविधान अनुमोदन गराइयो । पछिल्लो पटक महिनौँदेखिको राजनीतिक अस्थिरता र हिंसात्मक घटनापछि सन् २०१४ मा सेनाले सत्ता हातमा लिएको थियो । सत्ता हातमा लिएपछि सेनाले तत्कालीन संविधान खारेज गरेको थियो । अहिले सेनाले बनाएको नयाँ संविधानका समर्थकहरुले देशमा अब राजनीतिक स्थिरता कायम हुने विश्वास व्यक्त गरेका छन् भने आलोचकहरुले भने मुलुकमा सेनाको नियन्त्रण अरु बढाउने दावी गरेका छन् ।
सेनाले बनाएको नयाँ संविधान अनुसार मनोनीत सांसदले पनि प्रधानमन्त्री चयन प्रक्रियामा सहभागी हुन पाउने छन् । यो व्यवस्था पुरानो संविधानमा थिएन ।
अब नयाँ संविधान अनुसार आउँदो वर्ष आमचुनाव गराई जननिर्वाचित सरकारलाई सेनाले सत्ता हस्तान्तरण गरी प्रजातन्त्र पुनःवहाली हुने प्रतिबद्धता सैनिक नेतृत्वले व्यक्त गरेको छ । तर राजा भूमिबलको निधनले अनिश्चितता बढाएको छ ।
पछिल्लो समय दुई वर्षअघि सेनाले सत्ता हातमा लियो । राजनीतिक हिंसा र अस्थिरता बढेपछि निर्वाचित प्रधानमन्त्री इनलक सिनावात्रालाई अपदस्थ गरी सेनाले सत्ता हातमा लिएको हो । त्यसअघि सन् २००६ मा उहाँका दाजु थाक्सिन सित्रावात्रालाई पनि सेनाले अपदस्थ गरेको थियो । सन् २००१ मा सत्तामा आउनु भएका थाक्सिनलाई भ्रष्टाचारको अभियोगमा सेनाले अपदस्थ गरेपछि उहाँ निर्वासनमा जानुभयो ।
लामो इतिहास बोकेको थाई राजतन्त्र सैनिक विद्रोहमार्फत नै सन् १९३२ देखि संवैधानिक राजतन्त्र बनेको हो । थाई राजतन्त्र संवैधानिक भएयता सन् १९३३, १९३३, १९३५, १९३९, १९४७, १९४९, १९५१, १९५१,१९५७, १९५८, १९७१, १९७६, १९७६, १९७७, १९८१, १९८५, १९९१, २००६ र २०१४ मा गरी १९ पटक सैनिक विद्रोह भएको छ । १२ पटक सैनिक विद्रोहमार्फत सेनाले सत्ता हातमा लिएको छ भने सात पटक सैनिक विद्रोह असफल भएको छ । कुनै वर्षमा त वर्ष दिनभित्रै दुई पटक सैनिक विद्रोहसमेत भएको छ । यसरी पटक पटक हुने सैनिक विद्रोहलाई थाई जनताले सहज रुपमा लिन थालेका छन् । सेनाले सत्ता हातमा लिँदा जनता बढी आतङ्कित हुनुपर्ने अवस्था छैन । तर पनि प्रजातन्त्रको संस्थागत विकास र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा पटक पटकको सैनिक विद्रोहले सकारात्मक सन्देश दिएको छैन ।
राजा भूमिबल विश्वमै सबभन्दा लामो समयसम्म शासन गर्ने राजा बन्नुभयो । उहाँ सन् १९४६ देखि २०१६ सम्म गरी ७० वर्ष शासन गर्नुभयो । उहाँको शासन कालमा त्यहाँका राजनीतिक दलहरुको भूमिका बलियो र भरपर्दो भएन जसले गर्दा पटक पटक सेनाले सत्ता हातमा लिदै आएको छ । अहिले सेनाले बनाएको नयाँ संविधानले पर्दा पछाडिबाट सेनालाई राजनीति गर्ने अधिकार दिएको छ । मनोनीति सांसद र प्रधानमन्त्री चयन गर्दा सेनाको भूमिकालाई सुनिश्चित गरेको नयाँ संवैधानिक व्यवस्थाले पार्टीहरुको भूमिकालाई भने कमजोर बनाएको भन्दै त्यसको विरोध समेत भएको छ ।
६ करोड ९९ लाख जनसङ्ख्या रहेको ५ लाख १३ हजार ११५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको थाइल्यान्डको मुख्य भाषा थाई हो भने अधिकांशले बुद्धधर्म मान्छन् । पुरुषको औसत आयु ७१ वर्ष र महिलाको ७८ वर्ष रहेको थाइल्यान्डमा प्रतिव्यक्ति आय ५ हजार ३७० डलर रहेको छ । चामल,सीफुड, कपडा, रबर निर्यात गर्ने थाइल्यान्डको विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत भनेको पर्यटन नै हो ।
अहिलेसम्म कसैको पराधिन नभएको स्वतन्त्र यो मुलुकलाई अब भूमिबलका ६४ वर्षीय छोरा युवराज महावाचिरालङ्गकुनले नयाँ राजाका रुपमा सम्हाल्नु हुनेछ । नयाँ राजाका रुपमा उहाँको भूमिका कस्तो हुने हो ? हेर्न बाँकी छ ।