सहयोगीको भरमा स्वास्थ्य केन्द्र, सिटामोल पनि छैन

citamol

भोजपुर । भोजपुरको पूर्वी भेगमा रहेको प्रमुख व्यापारिक केन्द्र प्याउलीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा सिटामोलसमेत नपाइँदा बिरामीहरु मर्कामा परेका छन् । स्वास्थ्य केन्द्रमा दरबन्दी अनुसारको डाक्टर समेत छैनन् ।
प्रचण्ड नेतृत्वको वर्तमान सरकारले हरेक स्वास्थ्य केन्द्रमा डाक्टर पुर्‍याउने निर्णय गरे पनि भोजपुरस्थित प्याउली स्वास्थ्य केन्द्रमा निर्णय कार्यान्वयन भएको छैन ।
प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत कार्यालय सहयोगी निलमणि नेपालकाअनुसार केन्द्रमा उपचारका लागि आउने बिरामीलाई सिटामोल समेत दिन सक्ने अवस्था छैन । ‘स्वास्थ्य केन्द्रमा सिटामोल सकिएको झन्डै दश दिन भयो तर अझै सिटामोल लगायतका औषधि ल्याउने कुनै सुरसार छैन,’ उनले भने ।

प्याउली हिले(भोजपुर सडक खण्डको मुख्य भागमा पर्छ मध्यपहाडी लोकमार्गको पनि मुख्य खण्ड मानिने प्याउली हुँदै यातायातका साधनहरु गुड्ने गर्छन् । यातायातको पहुँच भएको स्थानमा पनि सिटामोल जस्तो अत्यावश्यक औषधि नपाइँदा विरामी र तिनिहरुका आफन्त स्वास्थ्य केन्द्रभन्दा करिब दुई किलोमिटर टाढा रहेको मेडिकलबाट महंगोमा औषधि किनेर खान बाध्य छन् ।
सरकारले निःशुल्क रुपमा वितरण गर्ने भनेको ७० किसिमका औषधिको भण्डारण पनि केन्द्रमा अव्यवस्थित ढंगले गरिएको छ ।

बिरामीको चाप उच्च रहेपनि अहिले स्वास्थ्य केन्द्रमा एकजना अनमी र एकजना कार्यालय सहयोगीको भरमा चल्दै आएको छ । तीन शैया क्षमताको प्राथमिक स्वास्थ्य केन्द्र प्याउलीमा एकजना डाक्टर, २ जना अहेब, १ जना स्टाफ नर्स, ३ जना अनमी र २ जना कार्यालय सहयोगीको दरबन्दी छ । केन्द्रमा एमबीबीएस डाक्टर मात्र होइन लामो समयदेखि १ जना अहेब र स्टाफ नर्सको दरबन्दी रिक्त रहँदै आएको छ ।

असोज ३० गते ।