आन्दोलनका लागि तयार रहन युवालाई केपी ओलीको निर्देशन

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले युवालाई आन्दोलनका लागि तयार हुन निर्देशन दिनुभएको छ । युवा संघ नेपाल प्रचार विभागले आयोजना गरेको ‘युवा आवाज आधार र कार्यभार’ नामक पुस्तक लोकार्पाण कार्यक्रममा बोल्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो । ‘मैले केही अघि एक कार्यक्रममा भनेको छ । देशको अहितमा कोही लाग्छ भने परास्त गर्न आन्दोलनका लागि तयार हुनुहोला,’ ओलीले भने, ‘मुद्दा तराईको मुद्रा मेरो भन्नेहरुका लागि संविधान संशोधन हुँदैन । त्यो गर्न खोजे एमाले आन्दोलनका लागि तयार छ ।’ उहाँले बर्तमान सरकारले गर्नुपर्ने काम नगरेको तर नगर्नु पर्ने काममा बढी ध्यान दिएको पनि आरोप लगाउनु भयो । उहाँले आफू अप्ठ्यारो पर्दा बदर हुने भारतीय नोट नभएको समेत बताउनुभयो । ‘मैले कुनै सन्दर्भमा भनेको कुरा यो पुस्तकमा लेखका रुपमा छापेको रहेछ,’ उहाँले भन्नुभयो, ‘मैले त्यो सन्दर्भमा भनेका कुरा अहिलेमा केही पनि फरक छैन । म अप्ठ्यारो पर्दा बदर हुने भारतीय नोट जस्तो होइन त्यसैले मेरो विचार र अडानमा केही फरक छैन ।’
उहाँले राष्ट्रिय स्वाभिमानका लागि पूर्खाहरु नझुको स्मरण गराउँदै भन्नुभयो– ‘पूर्खाहरु कहिल्यै झुकेनन्, हिमालको चिसो पानी खाएका हामी पनि झुक्ने कुनै संभावना छैन,’ कहिले काहिँ केही साथीहरु तातो रगत चिसो बन्न खोजे जस्तो गर्छन् । एमालेले त्यस्तो हुन दिदैँन ।’ उहाँले एक इञ्च भूमि पनि कसैलाई प्रयोग गर्न नदिने चेतावनी दिनुभयो ।
माओवादी नेतृत्वको सरकारले देश लुट्न र गुरिल्ला चलाउन पुरक बजेट ल्याउने तयारी गरेको भन्दै त्यो अधिकार सरकारलाई नभएको पनि दाबी गर्नुभयो । पुस्तकमाथि टिप्पणी गर्दै एमाले सचिव प्रदीप ज्ञवालीले नकाबन्दीपछि पराजित शक्ति अहिले फेरि संविधान असफल बनाउँने खेलमा लागेको भन्दै त्यसको प्रतिकार गर्ने चेतावनी दिनुभयो । युवा संघका पुर्व अध्यक्ष महेश बस्नेत, युवा संघ अध्यक्ष राजीव पहारी, प्रचार विभाग प्रमुख प्रभातविक्रम कटुवालले पनि बोल्नुभएको थियो ।