नेताहरुलाई चन्द्र भण्डारीको सुझाव– ‘केही कुरा पूर्व राजा ज्ञानेन्द्रसँग पनि सिक्नुहोस्’

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवंम् सांसद चन्द्र भण्डारीले देशलाई पहाड, हिमाल र तराई अलग गरेर सीमांकन गर्ने प्रस्ताव व्यवस्थापिका संसद्मा दर्ता भए त्यसको खुृलेर विरोध गर्ने चेतावनी दिनुभएको छ । उहाँले मैत्री न्युजसँग कुरा गर्दै भन्नुभयो– ‘देश रहे मात्र हामी रहने हौं, त्यसैले देश नै नरहने प्रस्ताव मेरा लागि स्वीकार्य छैन ।’ संविधान संशोधन गर्न आयातित रुपमा रातारात सरकारले संसदमा संशोधन प्रश्ताव दर्ता गराएका बेला एमाललेले त्यसको खुलेर विरोध गरेको छ । यही बेला सत्ता साझेदार दल नेपाली कांग्रेसकै नेता भण्डारीले एमालेको अडानलाई समेत साथ दिँदै त्यस्तो विचार प्रस्तुत गरेपछि कांग्रेसलाई समेत समस्या भएको छ । उहाँले भन्नुभयो– ‘मेरो देश, मेरो लोकतन्त्र र हाम्रा जनता भन्दा म ठूलो होइन । मेरो पद ठूलो होइन । मलाई यो आवश्यकता नै छैन । म सधैं मेरो देश, जनता र प्रजातन्त्रका निम्ति एक्लै परेपनि उभिन तयार छु । म लड्न तयार छु मलाई केही कुराले छुँदैन।’ उहाँले मधेसी केही नेताहरुले अरु कसैको आडमा व्ल्याकमेलिङ गरिहेको पनि आरोप लगाउनु भयो । त्यस्तो कुरा आफुलाई कदापि स्वीकार्य नहुने उहाँको अडान छ । त्यति मात्र होइन उहाँले प्रदेश नम्बर पाँचलाई पहाडबाट अलग गर्ने सषयन्त्र भए खुलेर विरोधमा उत्रिने पनि चेतावनी दिनुभयो । उहाँले नेताहरुमा अडान नभएकाले समस्या भएको पनि दाबी गर्नुभयो ।
नेताहरु सत्ताका लागि लम्पसार परेकाले समस्या भएको उहाँको आरोप थियो । उहाँले पूर्व राजा ज्ञानेन्द्रको उदाहरण दिदैँ भन्नुभयो– ‘ज्ञानेन्द्रले कम्प्रोमाइज गरेका भए अझै १५–२० वर्ष टिक्थे तर राजदण्ड सर्लक छाडिदिए तर हाम्रो नेतृत्व ४–६ महिना सत्तामा जान विभिन्न ठाँउमा लम्पसार पर्छ ।’ उहाँले नेताहरु यसरी नै लम्पसार पर्दै जाने हो भने देश नरहने खतरा रहेकोतिर पनि संकेत गर्नुभयो ।