एकै परिवारमा चारजनाको मिर्गौला बिग्रेपछि परिवार बिचल्लीमा

फलेवास । झट्ट सुन्दा पत्यार पनि नलाग्ने । एकै परिवारका चार चारजना सदस्य मिर्गौला रोगबाट पीडित छन् भनेर । तर यस्तै बज्रपात परेको छ पर्वतको कुर्घा गाविसका त्रिलोचन शर्माको परिवारमा ।
कुर्घा गाविस–२ का त्रिलोचन शर्माको घरमा चारजना मिर्गौला रोगले आक्रमण गरेको हो । शर्माकी माइली छोरी, कान्छा छोरा र श्रीमती मिर्गौला रोगबाट ग्रसित छन् भने जेठा छोराको ज्यान गइसकेको छ । शर्माले आफ्नो मिर्गौला माइली छोरीलाई, जेठी छोरीको मिर्गौला कान्छो छोरामा प्रत्यारोपण गरिसकेका छन् । अहिले माइली र कान्छो दुवैलाई पुनः समस्या बल्झिएको छ–त्रिलोचन शर्माले भन्नुभयो ।

एकपछि अर्को गरी परिवारका चार सदस्यको मिर्गौलाले काम गर्न छाडेपछि अहिले परिवार बिचल्लीमा परेको छ । उपचारकै क्रममा एक छोरा गुमाएँ । अहिले उहाँकी श्रीमती प्रेमकुमारीको डायलासिस गरेर समय काटिरहेकी छन् । माइली छोरी र कान्छो छोराको मिर्गौला प्रत्यारोपण गरे पनि समस्या फेरि बल्झिएको छ । अहिले उनी सहयोग जुटाएर थप उपचार गर्ने आशमा सहयोगको याचना गर्दै भौँतारिनुभएको छ ।

भारत मुम्बईमा काम गरी परिवारको खर्च टार्दै आउनुभएका उहाँले एकाएक परिवारमा मिर्गौला रोगको पीडा थपिएपछि निकै मर्माहत भएको गुनासो गर्नुभएको छ । छोराछोरी र श्रीमतीको उपचारकै क्रममा घरघडेरी, खेतबारी सबै बिक्री भइसकेको छ । अहिले त्रिलोचन सहयोगको याचना गर्दै सदरमुकाम कुश्माबजार आइपुग्नुभएको छ ।

“उपचार गर्दागर्दै घरघडेरी, खेतबारी सबै सकियो”, त्रिलोचनले भन्नुभयो, “संसारमा कसैलाई पनि यस्तो दुःख नपरोस् ।” अहिलेसम्म डेढ करोड रुपैयाँभन्दा बढी उपचारकै क्रममा सकिएको उहाँको भनाइ छ ।