सूचना प्रविधिमा पोख्त हुन कलाकारलाई विज्ञको सुझाव
काठमाडौँ, असार २१ । सूचना तथा सञ्चार प्रविधिको तीव्र विकाससँगै नेपाली गीत सङ्गीत क्षेत्रका सर्जक र कलाकारहरू पनि प्रविधिमा दक्ष हुनुपर्नेमा जोड दिइएको छ । सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद्द्वारा शनिबार राजधानीमा आयोजित ‘सङ्गीत र प्रविधि’ विषयक विशेष अन्तरक्रिया कार्यक्रममा सहभागी प्राविधिक तथा विज्ञहरूले यस्तो सुझाव दिएका हुन् ।
कार्यक्रममा मुख्य प्रशिक्षकका रूपमा रहनुभएका राजेन्द्र अर्यालले वर्तमान समयमा गीत सङ्गीतको व्यापार परम्परागत शैलीबाट डिजिटल माध्यममा रूपान्तरण भएको बताउनुभयो । उहाँले अडियो, भिडियो, टिकटक, फेसबुक तथा अन्य सामाजिक सञ्जाल र ‘डिजिटल प्लेटफर्म’ बाट कसरी आफ्नो सिर्जनाको प्रवद्र्धन र आर्थिक लाभ लिन सकिन्छ भन्नेबारे कलाकारहरू स्वयं सचेत र जानकार हुनुपर्नेमा जोड दिनुभयो ।
यसैगरी, परिषद्का अध्यक्ष एवं वरिष्ठ लोकगायक बमबहादुर कार्कीले प्रविधिविज्ञ र कलाकारहरूबीचको सहकार्यले मात्र नेपाली मौलिक कला र सङ्गीतलाई विश्वस्तरमा पुर्याउन सकिने उल्लेख गर्नुभयो । उहाँले प्रविधि र कलाबीचको हातेमालो समयको माग भएको बताउनुभयो ।
कार्यक्रममा नेपाली सङ्गीत क्षेत्रका स्थापित व्यक्तित्वहरू खड्ग गर्बुजा, नरहरि प्रेमी, टीका पुन, रामकुमार कार्की, वैकुण्ठ महत, गोविन्दमधुर आचार्य, राजकुमार रायमाझी, ईश्वरी भुसाल (मादले दाइ), विष्णु खत्री र सङ्गीतकार शशी शर्मा मजगैया लगायत सहभागी हुनुहुन्थ्यो । सहभागिताले प्रविधिको प्रयोगमार्फत नेपाली सङ्गीतको बजार विस्तार र संरक्षणमा नयाँ बहसको सुरुवात गरेको आयोजकको भनाइ छ ।