प्रचण्ड र भट्टराई १६ महिनापछि एउटै मञ्चमा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनआन्दोलन, जनयुद्धबाट प्राप्त उपलब्धि उल्ट्याउने षड्यन्त्र भइरहेको बताउनुभएको छ ।
नेकपा माओवादी केन्द्रका स्वर्गीय नेता भक्तिप्रसाद पाण्डेको जीवनमा आधारित पुस्तक ‘चाचा भक्तिप्रसाद पाण्डे सङ्घर्षयात्रा’ सार्वजनिकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले परिवर्तनकारी शक्ति कमजोर भएको भन्दै परिवर्तनका एजेन्डा उल्ट्याउन बन्द कोठाभित्र षड्यन्त्र सुरु भएको बताउनुभएको हो ।
मुलुकलाई दुर्घटनातिर लैजाने प्रवृत्ति हावी भएकाले त्यसलाई परास्त गर्न पनि परिवर्तनकारी शक्ति मिल्नुको विकल्प नभएको प्रधानमन्त्रीले उल्लेख गर्नुभयो । मुलुक २०४७ सालतिर फर्कन नसक्ने भन्दै प्रधानमन्त्रीले केही मान्छेले संविधान कार्यान्वयन हुन नदिने सपना देखेको भए त्यसलाई परास्त गरेर अगाडि बढ्न सरकार र परिवर्तनकारी शक्ति मतैक्य भएर जाने स्पष्ट पार्नुभयो ।

संविधान कार्यान्वयन गर्ने बेलामा माओवादी आन्दोलन छाडेर नयाँ बाटोमा लाग्ने डा बाबुराम भट्टराईको कदम आफूलाई अहिले पनि जायज नभएको भन्दै उहाँले परिवर्तनका कार्यसूची जोगाउन पनि एकै स्थानमा आउनुपर्नेमा जोड दिनुभयो । जनयुद्ध, जनआन्दोलनको प्रमुख उपलब्धिका रुपमा संविधानसभाबाट जारी भएको र त्यसको सहज कार्यान्वयन, स्थानीय निकाय, प्रदेश र केन्द्रीय संसद्को निर्वाचन गरेर मुलुकलाई नयाँ दिशामा अगाडि लैजानु आजको प्रमुख दायित्व भएको प्रधानमन्त्रीको भनाइ थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले माओवादी आन्दोलन एकताबद्ध होओस् र नेता तथा कार्यकर्ता छिन्नभिन्न नहोस् भन्ने मान्यात राख्नुहुने स्वर्गीय नेता पाण्डे अद्भुत क्षमतामा धनी हुनुहुन्थ्यो भन्नुभयो ।

नेपालमा ठूलाठूला परिवर्तन भए पनि त्यसमा बाह्य शक्तिको हात रहेको भन्ने जस्ता नकारात्मक टिप्पणी हुने गरेको उल्लेख गर्दै डा भट्टराईले नेपालको आफ्नै धरातलमा उभिएको र नेपाली जनताको परिवर्तनको महत्वपूर्ण पहलका रुपमा जनयुद्ध रहेको स्पष्ट पार्नुभयो ।
विचारमा फरक परेका कारण आफूले छुट्टै बाटो रोजेको भए पनि आगामी दिनमा एकै ठाउँमा आउन सक्ने अवस्था रहेको भन्दै उहाँले समृद्ध नेपालका लागि आर्थिक समृद्धिको आवश्यकता रहेको बताउनुभयो ।