एमालेलाई फकाउने प्रचण्डको प्रयास विफल,आज पनि संसद् चल्ने सम्भावना कम

काठमाडौँ। एमालेलाई फकाउने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रयास विफल भएको छ । प्रधानमन्त्री ‘प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई फकाउन गर्नुभएको प्रयास विफल भएको हो ।
दुवै नेताबीच भेटमा प्रधानमन्त्री प्रचण्डले व्यवस्थापिका–संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव अघि बढाउन सहयोग गर्न अध्यक्ष ओलीसँग आग्रह गर्नुभएको थियो । प्रधानमन्त्रीले आज सदनमा संशोधन प्रक्रिया अगाडि बढाउने तयारी रहेको भन्दै संसद् अवरोध हटाउन ओलीलाई आग्रह गर्नुभएको थियो ।
जवाफमा अध्यक्ष ओलीले संशोधन प्रस्ताव देश हितविपरित रहेको भन्दै निर्वाचनसम्बन्धी विधेयक अगाडि बढाए मात्रै आफूहरुको सहयोग हुने जवाफ दिनुभएको थियो । गोप्य राखिएको सो भेटमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीले एक्लाएक्लै लामो समय वार्ता भएको थियो ।
वार्तामा ठोस सहमति नभए पनि केही विषयमा सहमति नजिक नजिक पुगेको तथा सोमबार सरकार र प्रतिपक्षीबीच संसदमा असहज स्थिति निम्त्याउन नहुनेमा दुवै नेता एकमत भएको बताइन्छ ।
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको निजी सचिवालयले भेट भएको स्वीकार गरे पनि त्यसबारे खुलाउन चाहेन । सरकारले संविधान संसोधन प्रक्रिया अगाडि बढाएपछि एमालेसहित नौ दलले निरन्तर संसद् अवरुद्ध गर्दै आएका छन् ।