संविधान संशोधन विधेयक पेस गर्न नदिने एमालेलगायत नौ दलको निर्णय

काठमाडौँ । नेकपाएमाले नेतृत्वको नौ दलीय विपक्षी गठबन्धनले संविधान संशोधन विधेयक पेस गरे संसद अवरोधलाई निरन्तरता दिने निर्णय गरेको छ । सिंहदरवारमा आज बिहान बसेको गठबन्धनको बैठकले राष्ट्रहितविपरीतको संशोधन प्रस्तावको विरोधमा निरन्तर संघर्ष गर्ने निर्णय गरेको हो ।बैठकले विरोधको शैलीलाई शिष्ट र मर्यादित बनाउने निर्णय गरेको छ । जबर्जस्ती विधेयक टेबुल गर्न खोजिए मर्यादित भएर विरोध गर्ने तयारी विपक्षीको छ ।
माओवादीले संसदमा विरोध जनाउनेक्रममा दुई पटक संसदमा कुर्सी भाँच्नेदेखि तत्कालिन प्रधानमन्त्रीलाई आक्रमण गर्ने र अर्थमन्त्रीको ब्रिफकेस खोस्नेसम्मको कार्य गरेको थियो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले शक्तिकेन्द्रहरुको दबाबमा संशोधन अगाडि बढाउन नसकिने बताउनुभयो । ‘जनमत प्रतिपक्षको पक्षमा छ,’ उहाँले भन्नुभयो, ‘संशोधनको विरोधलाई रोक्न सकिंदैन ।’
ओलीले संसदमा शिष्ट, भद्र र मर्यादित भएर प्रस्तुत हुने प्रमुख सचेतकहरुमार्फत सांसदहरुलाई अपिल गर्नुभयो ।