राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सम्झना

काठमाडौँ। राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २९५ औँ जन्मजयन्तीको अवसरमा उहाँको सालिकमा माल्यार्पण गरिएको छ ।
विभिन्न सङ्घ संस्थाका प्रतिनिधिका साथै राजनीतिक दलका नेताले सिंहदरबार मूलद्वार अगाडि रहेको शाहको सालिकमा माल्यार्पण गरेका हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पृथ्वीनारायण शाहको योगदानका कारण नेपालले विश्वसामु पहिचान बनाएकाले आज हामी नेपाली भएर बाँच्न पाएको बताउनुभयो ।

मुलुकको राष्ट्रियता, अखण्डता र सार्वभौमिकताको रक्षाका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्नेमा जोड दिँदै अध्यक्ष थापाले “पृथ्वीनारायण शाहको योगदानको कदरस्वरुप यो पर्वलाई सरकारले भव्यरुपमा मनाउनुपर्नेमा सार्वजनिक बिदासम्म नदिनु उचित नभएको उल्लेख गर्नुुभयो ”राप्रपाका राष्ट्रिय अध्यक्ष पशुपतिशमशेर राणाले मुलुक निर्माण गर्ने इतिहास पुरुषलाई सरकारले बेवास्ता गरेको आरोप लगाउनुभयोे ।

उहाँले पृथ्वीनारायण शाहले देशलाई एकीकरण गरेर सिङ्गो राष्ट्र निर्माण गरेजस्तै अहिले सबै राजनीतिक दल एकजुट भई मुलुकलाई निकास दिने बेला आएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा २९५ औँ राष्ट्रिय एकता दिवस नागरिक मूल समारोह समिति, राष्ट्रिय एकता मञ्च, शिव सेना नेपाल, हिन्दू राष्ट्र जागरण अभियान नेपाल, संयुक्त सुशासनका लागि युवा सङ्गठन नेपाल, शाही युवा शक्ति, गोर्खाली तक्मा नेपाललगायत विभिन्न सङ्घसंस्थाको उपस्थिति थियो ।

सरकारले विदा नदिए पनि २९५ औं पृथ्वी जयन्ती विविध कार्यक्रम गरी जनस्तरमा मनाइँंदै छ । पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा सरकारीस्तरबाटै मनाइनुपर्ने र सार्वजनिक विदा दिइनुपर्ने आवाज उठिरहेका बेला जनस्तरबाट पृथ्वी जयन्ती मनाउन लागिएको हो ।
तत्कालिन गोर्खा राज्यका राजा पृथ्वीनारायण शाहले नेपालको एकीकरणमा योगदान पुर्‍याएका थिए ।
पृथ्वीनारायण शाह २० वर्षको उमेरमा राजा भएका थिए । ५३ वर्षको उमेरमा नै उनको निधन भयो । करिब तीन दशकभन्दा लामो समयसम्म निरन्तर युद्धरत शाहले आफू राजा भएदेखि नै नेपाल एकीकरण अभियानको आरम्भ गरेका थिए ।
१७७९ साल पुस २७ गते गोरखामा जन्मिएका शाहले विक्रम सम्वत् १८०१ असोज १५ गते नुवाकोटमाथि विजय हासिल गरेर नेपाल एकीकरणको अभियान सुरु गरेका थिए । त्यसपछि कीर्तिपुर, कान्तिपुर, पाटन, भक्तपुर, मकवानपुरहुँदै उनले एकीकरण अभियानलाई अघि बढाएका थिए । शाहले पश्चिमी क्षेत्रमा पनि एकीकरण प्रयास गरेका थिए ।
तत्कालीन बाइसे चौबीसे राज्यहरुलाई एकीकरण गरेर अहिलेको भन्दा झण्डै डेढ गुणा ठूलो नेपाल राष्ट्रको निर्माण गर्न पृथ्वीनारायण शाहले निर्वाह गरेको भूमिका महत्वपूर्ण छ ।
नेपालमा गणतन्त्र आउनुपूर्व पुस २७ गतेलाई सरकारबाटै पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका रुपमा मनाउने चलन थियो । यसदिन सरकारले सार्वजनिक विदा दिने गरेको थियो । गणतन्त्र स्थापनासँगै देशमा राजतन्त्रको अन्त्य भएको र परिवर्तनलाई संस्थागत गर्ने भन्दै सार्वजनिक विदालाई हटाइएको हो ।
यसैबीच, पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालको अस्तित्व, स्वाभिमान र गौरव चिरकालसम्म जोगाउन, नेपालीबीचको एकतालाई जीवन्त तथा स्थायी बनाउन, स्थिर, शान्त र समृद्ध नेपाल निर्माण गर्नका लागि सबै नेपालीलाई एकतावद्ध हुन आह्वान गर्नुभएको छ । एक विज्ञप्ति जारी गर्दै पूर्वराजा शाहले पृथ्वी नारायण शाहको सङ्घर्ष, नेतृत्व कौशल, दूरदर्शीता नेपाली जनताको सामूहिक साथ र सेनाको वीरताको परिणामस्वरुप यो देशको राष्ट्रियता, राष्ट्रिय एकता र सामाजिक सद्भाव प्राप्त भएको बताउनुभएको छ ।
विज्ञप्तिमा भनिएको छ, देश कसैको क्रीडास्थल होइन, हुन सक्दैन र हुन दिइनु पनि हुँदैन भन्ने सोचकासाथ देशभक्त नेपालीले एकताबद्ध भई सद्भाव, देशभक्ति र आपसी एकता तथा प्रेमको डोरीले मात्र नेपालको अस्तित्व र पहिचान जोगाउन सकिन्छ ।