प्रचण्ड र देउवाका कारण पर्यटन क्षेत्र धराशायी हुने खतरा

maitrinews

काठमाडौँ । प्रचण्ड नेतृत्वको वर्तमान माओवादी—काँग्रेस गठबन्धन सरकारको भारतपरस्त गतिविधिका कारण मुलुकको पर्यटन व्यवसाय धराशायी हुने खतरा बढेको छ ।

भारतको इशारामा ओली सरकार ढालेर भारतको भजनकीर्तन गर्दै सत्ता हातमा लिएको वर्तमान गठबन्धनले नेपालको सन्तुलित परराष्ट्र नीतिको खिल्ली उडाउँदै भारतलाई रिझाउने र उत्तरी छिमेकी चीनलाई चिढाउने काम गरेपछि चीन सरकारले गम्भीर असन्तुष्टि व्यक्त गरेको छ ।
काँगे्रस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा कूटनीतिक मर्यादाविपरीत भारतमा गई एक कार्यक्रममा भाग लिई दलाई लामाका प्रतिनिधिलाई भेटेकोमा कूटनीतिक विरोध जनाएको चीनले पछिल्ला दिनमा नेपालभित्रै चीनविरोधी गतिविधि भइरहेका भरपर्दा सूचना संकलन गरेपछि चिनियाँ नेतृत्व नेपालप्रति रुष्ट बनेको छ ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमण गरी नेपाल चीन सम्बन्धलाई नयाँ उचाइँमा पुर्याउने प्रयास गर्नुभएको र चिनियाँ राष्ट्रपति सी जिनपिङलाई नेपाल भ्रमण गराउने तयारी गर्नुभएकोमा सो कार्य रोक्न ओली सरकार ढाली प्रचण्डलाई प्रधानमन्त्री बनाएको भारतले नेपाललाई तहसनहस पार्न,चीनसँगको सम्बन्ध बिगारिदिन प्रचण्ड र देउवालाई प्रयोग गरी चीनविरोधी गतिविधिलाई प्रश्रय दिएकै कारण नेपाल र चीनबीचको सम्बन्धमा गम्भीर संकट उत्पन्न भएको छ । चीन सरकारले सोही कारण राष्ट्रपति सीको नेपाल भ्रमण कार्यक्रम रद्दमात्र गरेन आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न आदेश दिएको छ । यतिमात्र होइन भूकम्पले क्षतिग्रस्त भएको तातोपानी नाका नखुलाउनेमात्र होइन केरुङ नाकासमेत बन्द गर्ने संकेत गरेको छ । यसले गर्दा नेपालको पर्यटन क्षेत्र धराशायी हुने खतरा बढेको छ ।
काठमाडौँस्थित चिनियाँ दूतावासले बारम्बार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवालाई चीनविरोधी गतिविधि हुन नदिने ध्यानाकर्षण गराउँदा पनि चीनविरोधी गतिविधि नरोकिएपछि चिनियाँ विदेश मन्त्रालयले नेपाल भ्रमण नगर्न उचित हुने भनी चिनियाँ नागरिकहरुलाई आन्तरिक रुपमा सूचित गराएको कूटनीतिक सूत्रले जनाएको छ ।
चीन सरकारको सो संकेतलगत्तै चीनबाट नेपाल आउने तयारीमा रहेका हजारौँ चिनियाँहरुले धमाधम टिकेट बुकिङ रद्द गर्न थालेको छन् । केहीदिनयता काठमाडौँ आउने चिनियाँ पर्यटकहरु घट्न थालेको र होटेल तथा टिकट बुकिङ रद्द गर्न थालेको भन्दै यहाँका होटल तथा ट्राभल्स एजेन्सीहरुले चिन्ता व्यक्त गर्न थालेका छन् ।
नेपालमा अचेल सबभन्दा ठूलो संख्यामा चिनियाँ पर्यटकहरु आउने गरेको र चिनियाँ पर्यटककै कारण नेपालको पर्यटन क्षेत्रले नयाँ गति लिन लागेको बेला वर्तमान सरकारको गठबन्धन सरकारको बेइमानीले नेपालको पर्यटन क्षेत्र गम्भीर संकटमा पर्ने खतरा बढ्दै छ । यो खबरले नेपालका पर्यटन व्यवसायीहरु निराश बन्न थालेका छन् ।