पर्यटनको विकास जुन गतिमा हुनुपर्ने हो हुन सकेन : मन्त्री शाही

काठमाडौँ, ४ माघ । संस्कृति पर्यटन तथा नागरिक उड्डयानमन्त्री जीवनबहादुर शाहीले नेपालमा पर्यटन क्षेत्रको विकास जुन गतिले हुनुपर्ने हो त्यो हुन नसकेको बताउनुभएको छ ।
नेपाल–क्यानडा मैत्री तथा सांस्कृतिक सङ्घद्वारा नेपाल–क्यानडा दौत्य सम्बन्धको ५२ औँ वर्षका अवसरमा आज यहाँ आयोजना गरेको ‘पर्यटन प्रवद्र्धन र नेपाल–क्यानाडा सम्बन्ध’ विषयक अन्तरक्रियामा मन्त्री शाहीले पर्यटन क्षेत्रको विकास व्यक्ति वा मन्त्रीले चाहेर मात्र नहुने भन्दै सिङ्गो मुलुक लाग्नुपर्ने बताउनुभयो ।
मन्त्री शाहीले नेपालको पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधारको विकास आवश्यक रहेको भन्दै उल्लेख्य मात्रामा पूर्वाधार नहुँदा पर्यटन क्षेत्रको विकास तीव्र गतिमा हुन नसकेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “नेपालको पर्यटनको विकासका लागि आफू निरन्तर लागिरहेको छु ।”
नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष आङ्छिरिङ शेर्पाले पर्यटन एकमुठी माटो निर्यात नगरी अर्बौं रुपैयाँ भित्र्याउने पेसा भएकाले यसलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । उहाँले नेपालमा आठ हजारभन्दा उचाइका १४ हिमाल रहेको भन्दै यसलाई विश्वसामु चिनाउनु जरुरी रहेको स्पष्ट पार्नुभयो ।
नेपाल पर्यटन बोर्डका पूर्व कार्यकारी निर्देशक प्रचण्डमान श्रेष्ठले नेपालको पर्यटन विकासमा क्यानडाको ठूलो सहयोग रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “क्यानडाबाट बर्सेनि धेरै पर्यटक अन्य मुलुकमा जान्छन् त्यी पर्यटकलाई नेपालमा भित्र्याउन सके नेपालको विकास चाँडो हुन्छ ।”
सङ्घका अध्यक्ष हिरण्यलाल श्रेष्ठले नेपाल–क्यानडाको सम्बन्धलाई थप प्रगाढ बनाउन सङ्घ निरन्तर लाग्ने बताउनुभयो ।
सो अवसरमा मन्त्री शाहीले नेपाल–क्यानडामैत्री तथा सांस्कृतिक सङ्घद्वारा प्रकाशन गरिएको पत्रिका लोकार्पण गर्नुभएको थियो ।