विश्व बैंकको १५ करोड डलर ऋण सहयोग
काठमाडौं, १० माघ
विश्व बैंकले १५ करोड अमेरिकी डलर (करिब १६ अर्ब ३७ करोड रुपैयाँ) ऋण सहायता प्रदान गर्ने भएको छ । विभिन्न प्रकारका घटना दर्तालाई विद्युतीय (डिजिटल) प्रविधिमा लैजान यस्तो ऋण दिएको हो ।
अर्थमन्त्रालयमा शोमवार आयोजित एक कार्यक्रममा मन्त्रालयका सचिव डा शान्तराज सुवेदी र विश्व बैंकका देशीय प्रबन्धक ताकुया कामाताले यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
त्यसक्रममा अर्थ सचिव सुवेदीले सम्झौताले सामाजिक सुरक्षा कार्यक्रमलाई व्यवस्थित बनाउन सहयोग गर्ने वताए । बैंकका देशीय प्रबन्धक कामाताले आयोजना कार्यान्वयन भएपछि सामाजिक सुरक्षाका कार्यक्रमको विद्युतीय भुक्तानी (इ–पेमेन्ट) गरिँदा काम छिटो र कम जनशक्तिले गर्न सकिने वताए ।
आयोजनाले मुलुकका सबै नगरपालिका र गाविसमा जन्म, मृत्यु, विवाह, बसाइँ सराई र सम्बन्धबिच्छेदका घटनालाई विद्युतीय प्रविधिबाट दर्ताका लागि पूर्वाधार एवम् जनशक्तिको व्यवस्थापन गर्ने केन्द्रीय पञ्जीकरण विभागका महानिर्देशक अनिलकुमार ठाकुरले वताए ।
तीन महिनापछि सबै तयारी पूरा गरी स्थानीय निकायमा विद्युतीय प्रविधिबाट घटना दर्ताका लागि पूर्वाधार निर्माण र जनशक्ति व्यवस्थापनको काम सुरु हुने विभागले जनाएको छ । पाँच वर्षमा सबै स्थानीय निकायमा पूर्वाधार निर्माण र जनशक्ति व्यवस्थापनको काम पूरा गर्ने विभागको लक्ष्य छ ।
उनका अनुसार विसं २०३४ वैशाख १ गतेदेखि पाँच प्रकारका घटना दर्ता स्थानीय निकायमा हुँदै आएको छ । कर्मचारीले रजिस्टरमा दर्ता गर्ने प्रणाली भएकाले यसमा सबैले समयमै व्यक्तिगत घटना दर्ता गर्ने नगरेका हुनाले विद्युतीय प्रविधिबाट काम गर्ने प्रणालीको विकास भएपछि बाल, युवा, वृद्ध र महिलालगायत सबै नागरिकका सूचना व्यवस्थित गर्न सहज हुने उनको भनाई छ ।