ऊर्जा तथा आपूर्ति शृङ्खलाको अवरोध हटाउन अन्तर्राष्ट्रिय समुदायलाई नेपालको आग्रह

काठमाडौँ, जेठ २ । नेपालले विश्वव्यापी ऊर्जा तथा आपूर्ति शृङ्खलामा देखिएका अवरोधहरू न्यूनीकरण गर्न र यसबाट सिर्जित सङ्कट समाधानका लागि अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएको छ ।

संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद्को विशेष बैठकलाई शुक्रबार श्रव्यदृश्य (भिडियो) माध्यमबाट सम्बोधन गर्दै परराष्ट्रमन्त्री शिशिर खनालले सो कुरामा जोड दिनुभएको हो ।

संयुक्त राष्ट्रसङ्घका लागि न्युयोर्कस्थित नेपाली स्थायी नियोगका अनुसार, मन्त्री खनालले विश्वव्यापी ऊर्जा र आपूर्ति शृङ्खलामा उत्पन्न अवरोधले दिगो विकासका लक्ष्यहरू प्राप्त गर्न गम्भीर चुनौती खडा गरेको बताउनुभयो । विशेष गरी पश्चिम एसियामा जारी द्वन्द्वका कारण नेपालजस्ता मुलुकहरूले ठूलो मूल्य चुकाउनुपरेको उहाँको भनाइ थियो ।

सम्बोधनका क्रममा मन्त्री खनालले भन्नुभयो, “पश्चिम एसियाको द्वन्द्वले त्यहाँ कार्यरत २० लाखभन्दा बढी नेपाली श्रमिक र उनीहरूका परिवारको जीवनमा प्रत्यक्ष असर पारेको छ । बढ्दो ऊर्जा मूल्य, विप्रेषण (रेमिट्यान्स) मा आएको गिरावट र पर्यटन क्षेत्रमा देखिएको सुस्तीले हाम्रो अर्थतन्त्रलाई थप प्रभावित बनाएको छ ।”

उहाँले द्वन्द्व र सङ्कटको सबैभन्दा ठूलो भार नेपालजस्ता साना र अतिकम विकसित राष्ट्रहरूले व्यहोर्नुपरेको उल्लेख गर्दै यस्तो परिस्थितिमा ती मुलुकहरूलाई एक्लै नछाड्न आग्रह गर्नुभयो । अन्तर्राष्ट्रिय समुदायले जिम्मेवार बनेर समयमै आवश्यक हस्तक्षेप र सहयोग पुर्‍याउनुपर्नेमा मन्त्री खनालले विशेष जोड दिनुभयो ।