पर्वतका ५७ व्यावसायिक किसानलाई सवा लाख माछाका भुरा निःशुल्क वितरण

काठमाडौँ, जेठ २ । पर्वतका विभिन्न स्थानीय तहमा व्यावसायिक मत्स्यपालन गरिरहेका किसानहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले माछाका भुरा निःशुल्क वितरण गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, पर्वतले जिल्लाका ५७ जना व्यावसायिक किसानलाई शतप्रतिशत अनुदानमा एक लाख २३ हजार माछाका भुरा उपलब्ध गराएको हो ।

केन्द्रका प्रमुख सुरेशकुमार श्रेष्ठका अनुसार चालू आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत विनियोजित दुई लाख रुपैयाँ बजेटबाट ती भुरा खरिद गरी वितरण गरिएको हो । कार्यालयले किसानको माग र पोखरीको क्षमताका आधारमा उनीहरूकै कार्यस्थल (पोखरी) मा पुगेर भुरा हस्तान्तरण गरेको छ ।

“लामो समयदेखि मत्स्यपालनमा आबद्ध किसानहरूबाट आवेदन सङ्कलन गरी भुरा वितरण गरेका हौँ,” कार्यालय प्रमुख श्रेष्ठले भन्नुभयो, “स्थानीय हावापानीमा छिटो फस्टाउने ‘कमनकार्प’ जातका भुरा वितरण गरिएको छ । यो जातको माछा एक वर्षमै दुई किलोसम्म हुने भएकाले किसानको आयआर्जनमा प्रत्यक्ष टेवा पुग्ने विश्वास लिएका छौँ ।”

ती भुरा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको मत्स्य अनुसन्धान केन्द्र, वेगनास ताल, पोखराबाट खरिद गरिएको कार्यालयले जनाएको छ ।

पछिल्लो समय पर्वतको मोदी, कुश्मा, फलेवास, जलजला र पैँयू क्षेत्रमा व्यावसायिक रूपमा माछापालन गर्ने किसानहरूको सङ्ख्या बढ्दो छ । बजारमा माछाको माग र उपभोग वृद्धि भएसँगै किसानहरू यसतर्फ आकर्षित भएका हुन् । यस कार्यक्रमले जिल्लामा व्यावसायिक मत्स्यपालनको विस्तार र किसानहरूको आर्थिक स्तर उकास्न थप मद्दत पुग्ने अपेक्षा गरिएको छ ।