औद्योगिक वातावरण निर्माणमा जोड

काठमाडौं, ११ माघ
सरकारले औद्योगिक वातावरण निर्माणमा जोड दिनुपर्ने खाँचो औंल्याएको छ । उद्योग मन्त्री नवीन्द्रराज जोशीको अध्यक्षतामा मंगलवार वसेको उद्योग तथा लगानी प्रवद्र्धन वोर्डको २२१ औं बैठकले यस्तो आवश्यकता औंल्याएको हो । बैठकमा नेपाल सरकारका विभिन्न मन्त्रालय र निजी क्षेत्रको समेत गरी २३ जना सदस्यहरुको उपस्थिती रहेको थियो ।
बैठकमा लामो समयदेखी बस्ने नसकेको उद्योग तथा लगानी तथा गक प्रवद्र्धन वोर्डको वैठक नियमित रुपमा बस्ने मन्त्री जोशीले जानकारी गराए । बैठकमा ९ वटा नीतिगत प्रस्तावमाथि छलफल भएको थियो ।
बैठकले उद्योग संचालनका लागि लाग्ने समयावधिका सम्वन्धमा मापदण्ड तयार भई लागु भएका उद्योगहरुका हकमा सोही बमोजिम हुने र अन्यको हकमा सम्वन्धित उद्योगीसँग कार्ययोजना लिई कार्ययोजना र उद्योगको प्रकृति अनुसार अधिकतम १० बर्ष भित्र उद्योग संचालनको समय सीमा तोक्ने निर्णय गरेको छ ।
उद्योग दर्ताको लागि ठुला, मझौला र विदेशी लगानी सम्वन्धि उद्योगका लागि उद्योग विभाग, साना लघु तथा घरेलु उद्योगका लागि घरेलु विभाग र विशेष आर्थिक क्षेत्र सेजमा स्थापना हुने स्वदेशी उद्योगका हकमा विशेष आर्थिक क्षेत्र व्यवस्थापन कार्यालयलाई जिम्मेवारी तोक्ने गरी राजपत्रमा सूचना प्रकाशित गर्न प्रकृया अगाडी बढाउन मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
उद्योगले पालना गर्नुपर्ने शर्तहरु निर्धारण गर्ने सम्वन्धमा उद्योग विभागको महानिर्देशकको संयोजकत्वमा वन, वातावरण, कृषि, अर्थ, पर्यटन र स्थानिय विकास मन्त्रालयको प्रतिनिधि गठन गरी सो समितिले आगामी बैठकमा मापदण्ड प्रस्तुत गर्ने निर्णय गयो ।
विभिन्न मितिमा दर्ता भै संचालनको म्याद सकिएका उद्योगहरुको हकमा पुनः संचालन गर्न दिने सम्वन्धमा कानूनी राय सहित आगामी बैठकमा पेश गर्ने निर्णय भयो ।
बैठकलाई सम्वोधन गर्दै उद्योग मन्त्री नवीन्द्रराज जोशीले उद्योग तथा लगानी प्रवद्र्धन वोर्डमा लामो समयदेखिका केही एजेण्डाहरु थाँती रहेकोमा विस्तृत अध्ययन पछि आगामी बैठकहरुमा क्रमश ती एजेण्डाहरुलाई सम्वोधन गर्दै जाने बताए ।