धवलागिरिको ६६ वर्ष : सहरबाट हिमालकै फेदीमा पुगेको आरोहण दिवस
काठमाडौँ, वैशाख ३० । संसारको सातौँ अग्लो शिखर धवलागिरि (८,१६७ मिटर) ले मानव स्पर्श पाएको ६६ वर्ष पूरा भएको छ । सन् १९६० मे १३ तारिखका दिन अस्ट्रियाका नागरिक कुर्ट डिम्बर्गरसहितको टोलीले पहिलोपटक यो ‘सेतो हिमाल’को चुचुरोमा पाइला टेकेर संसारलाई एउटा साहसिक सफलताको खबर सुनाएको थियो।
सोही ऐतिहासिक दिनको स्मरणमा वर्षेनी मनाइने ‘धवलागिरि आरोहण दिवस’ यस वर्ष भने अघिल्ला वर्षहरूभन्दा भिन्न र विशेष बनेको छ। विगतका वर्षहरूमा काठमाडौँका महँगा होटल वा पोखराका सुविधायुक्त सभाहलमा सीमित हुने यो दिवस पहिलोपटक हिमालकै काखमा रहेको म्याग्दीको धवलागिरि गाउँपालिका-४ मुदीमा मनाउन थालिएको छ ।
पहिचान खोज्दै आफ्नै थातथलोमा उत्सव
धवलागिरि हिमाल म्याग्दीको भूगोलमा पर्छ भन्ने सन्देश प्रवाह गर्न र स्थानीय पर्यटनलाई प्रवद्र्धन गर्न यसपटक गाउँमै दिवस आयोजना गरिएको हो। धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन भन्छन्, “पहुँच र पहलको कमीले हिजोका दिनमा धवलागिरिको उत्सव पोखरा र काठमाडौँमा मनाइन्थ्यो। तर यसको वास्तविक पहिचान र अधिकार म्याग्दीसँग जोडिएको छ। त्यसैले हिमालकै काखमा यो गौरवगाथा सुनाउन हामीले मुदीलाई रोजेका हौँ।”
गण्डकी प्रदेशको पर्यटन मन्त्रालय, पर्यटन बोर्ड र टान (टान) गण्डकीको समन्वयमा आयोजित यस कार्यक्रमका लागि मन्त्री, सांसद र पर्यटन क्षेत्रका अगुवाहरू पैदलै हिँडेर मुदी पुगेका थिए। पदयात्रा र बाजागाजासहित स्थानीयले गरेको भव्य स्वागतले मुदी गाउँ अहिले पर्यटकीय उल्लासले भरिएको छ।
६ दशकको इतिहास र ७ सय आरोही
धवलागिरि आरोहणको इतिहास साहसिक र चुनौतीपूर्ण छ। कुर्ट डिम्बर्गरसँगै पिटर डियनर, एन्स्ट फोरर, एल्बिन सेल्वर्ट, निमा दोर्जे र नवाङ दोर्जेले ६६ वर्षअघि सुरु गरेको त्यो सफल यात्रापछि हालसम्म सात सयभन्दा बढी आरोहीले यो हिमालको सफल आरोहण गरिसकेका छन्।
पर्वतारोहणको क्षेत्रमा धवलागिरिलाई ‘साहसिक’ र ‘जोखिमयुक्त’ हिमालका रूपमा चिनिन्छ। टान गण्डकीका अध्यक्ष कृष्ण आचार्यका अनुसार यहाँको मौसम अनौठो छ। “आधा-आधा घण्टामा मौसम बदलिने र अनौठो भू-बनोटका कारण धवलागिरि चढ्नु कुनै ठूलो युद्ध जित्नु जत्तिकै मानिन्छ,” आचार्यले सुनाउनुभयो ।
पर्यटनको अथाह सम्भावना र आर्थिक पाटो
धवलागिरि हिमाल केवल एउटा टाकुरा मात्र होइन, यो मुलुकको अर्थतन्त्रको बलियो खम्बा पनि हो। पर्यटन विभागका अनुसार यसै सिजनमा ३० जना (१८ पुरुष र १२ महिला) ले आरोहण अनुमति लिएका छन्, जसबाट सरकारले १ करोड ३४ लाख ५४ हजारभन्दा बढी सलामी दस्तुर (रोयल्टी) सङ्कलन गरेको छ ।
यति ठूलो राजस्व र आकर्षणका बाबजुद पनि धवलागिरि क्षेत्रले पाउनुपर्ने जति चर्चा र पर्यटकीय लाभ पाउन नसकेको गुनासो स्थानीयको छ। नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछानेका अनुसार धवलागिरि चक्रीय पदमार्ग र यस हिमाललाई पर्यटकीय रूपमा अझ बढी ‘एक्सपोज’ गर्नुपर्ने आवश्यकता छ ।
सहरका वातानुकूलित कोठाबाट निस्किएर हिमालको फेदीमा पुगेको यो आरोहण दिवसले स्थानीय बासिन्दामा नयाँ आशा जगाएको छ। मुदीका वडाध्यक्ष यामप्रसाद घर्तीका अनुसार आफ्नै घरदैलोमा आरोहण दिवस मनाउन पाउँदा मुदीवासी खुसी छन् । ६६ वर्षको यो लामो यात्राले अब धवलागिरिलाई पर्वतारोहणमा मात्र होइन, म्याग्दीको समग्र विकास र पर्यटनको मेरुदण्डका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ ।