नेपाल ओलम्पिक कमिटीको कार्यालयमा तोडफोड र कब्जा गर्ने प्रयास,पुनःविवाद चर्कियो

ललितपुर । नेपाल ओलम्पिक कमिटीको विवाद फेरि चर्किएको छ । राष्ट्रिय मान्यताप्राप्त समूहले ललितपुरस्थित एनओसी मुख्यालय कब्जा गर्ने प्रयास गरेपछि फेरि विवाद बढेको हो ।
‘किशोरबहादुर सिंहको नेतृत्वमा अराजक समूहले एनओसी कार्यालयमा तोडफोड गरियो त्यसको घोर भत्र्सना गर्दछौं,’ अन्तर्राष्ट्रिय मान्यताप्राप्त एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले भन्नुभयो । उहाँको समूहले नै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी आईओसी र ओलम्पिक काउन्सिल अफ एसिया ओसिए सँग सहकार्य गर्दै आएको छ । सर्वोच्च अदालतले ब्युँताएको रुक्मशम्शेर राणा नेतृत्वको समूह कागजी रूपमा मात्र सीमित छ । उसैले अघिल्लो दिन कार्यालयमा ताला लगाएको थियो ।
सन् २००७ को निर्वाचनमार्फत् एनओसीमा ध्रुवबहादुर प्रधान अध्यक्ष र जीवनराम श्रेष्ठ महासचिव हुनुभएको थियो । त्यसअघि राणा अध्यक्ष र प्रधान महासचिव हुनुहुन्थ्यो । राणा आफैले उद्घाटन गरेको साधारणसभाबाट प्रधान अध्यक्ष चुनिनुभयो । त्यही निर्वाचन अवैधानिक भन्दै अदालत पुगेपछि सर्वोच्चले राणा नेतृत्वको कमिटीलाई ब्युँताइदिएको थियो ।