प्रेम कलाको त्यो गजबको कला

–श्याम स्मृत
काठमाडौ। दुई दशक अगाडिसम्म पनि काठमाडौको बागबजारमा प्रेम कला भनेपछि सवैले चिन्ने गरेका कलाकारको बास्तविक नाम कतिलाई पछिसम्म पनि थाहा थिएन। अत्यन्त राम्रो तथा सुन्दर अक्षर तथा चित्र बनाउने प्रेम कलाको पसल पीके क्याम्पसको अगाडिको गल्लीमा थियो। हाल यति प्लाजा जाने मोडमा रहेको घरमा त्यो बेला प्रेम कलाको पसल थियो।
जुन पसल राजनीति गर्ने नेताहरुको संपर्क कार्यालय जस्तो पनि बनेको थियो र अभिनय गर्ने कलाकारहरुको भेटघाट गर्ने थलो जस्तो पनि भएको थियो। अझ काठमाडौ वाहिरवाट काठमाडौमा पढ्ने आउने धेरै विद्यार्थीहरुलाई रोजगारी दिने माध्यम समेत बनेको थियो। एक किसिमले भन्ने हो भने, सवैको लागि प्रिय पसल थियो–प्रेम कला !
प्रेम कला कुनै राजनीतिक पार्टीको संगठन पनि होइन, कुनै कलाकार संघको भातृसंगठन पनि होइन। चित्रकारिताको पसल मात्र थियो। चित्रकारिताको माध्यमवाट काठमाडौ शहर–बजारका भित्ताहरुमा तुल–व्यानर लेख्ने र सवारी साधनहरुको नंबर प्लेट आकर्षक ढंगवाट लेखिदिने माध्यम प्रेम कला हो। त्यसको अलावा काठमाडौ लगायत विभिन्न शहरका तारे होटलहरुमा सजिने मूर्त तथा अमूर्त चित्रहरु कोरिने कलाको खानी प्रेम कला थियो।
त्यो प्रेम कलाको प्रेम कला अरु कोही नभइकन कलाकार प्रेम लाल श्रेष्ठ हुन्। कलाकार प्रेम लाल श्रेष्ठ भन्दा प्रेम कला नाम अत्यन्त चलेको थियो। पसलको नाम नै प्रेम कला भएकोले त्यहाँ जो आएपनि प्रेम लाल श्रेष्ठलाई प्रेम कला भनेर नै संवोधन गर्ने गर्छन्।
नेपाली चलचित्रका प्रसिद्ध लेखक तथा निर्देशक यादव खरेल अहिले पनि कलाकार प्रेम लाल श्रेष्ठलाई भेट्दा के छ– प्रेम कलाजी ! भन्ने गर्छन्। प्रेम लाल श्रेष्ठलाई प्रेम कला भन्ने युगिन हस्तीहरु अझै काठमाडौमा जीवितै रहेका छन्। तर, प्रेम लाल श्रेष्ठको त्यो नामुद प्रेम कला १३ बर्षयता बागबजारमा छैन्। कतिपय पुराना हस्तीहरु बागबजारमा प्रेम कलाको खोजी गर्न आउनेहरु अझै रहेको आइडियल डिजाइनर्सका प्रसिद्ध डिजाइनर तथा कवि एवम् गीतकार सुन्दर श्रेष्ठले भनेका छन्।
उनै नामी प्रेम कलाका प्रेम कला प्रेम लाल श्रेष्ठ पहिला जस्तो कुची र कलमसँग चल्दैनन्। त्यसको मतलव पहिला जस्तो कलाकारिता गर्दैनन्। कलाकारितालाई व्यवसाय बनाएका छैनन्। कलाकारितालाई समयसँगै परिमार्जित गरेर प्रेम कला यसलाई केवल शौखको रुपमा यदाकदा कोर्ने गरेतापनि हिजोआज बुल्डोजर, स्काभेटर जस्ता हेभी इक्वीप्मेन्ट व्यवसायको कलाकारिता गर्नमा तल्लिन बनेका छन्।
सफ्ट पेशा गर्दै चित्र र कलाकारिताको माध्यमवाट सवैको मनलाई सुन्दर बनाउंदै आएका प्रेम कलाले वि.सं.२०६० सालवाट व्यवसायलाई परिवर्तन गरेर हेभी इक्वीप्मेन्टको व्यवसायमा आफूलाई बदलेर देशको मुहार फेर्ने कार्य गर्न थालेका छन्। बाटो नपुगेका स्थानमा बुल्डोजर, व्याकुलोडर, स्काभेटर जस्ता हेभी इक्वीप्मेन्ट मार्फत वाटो खन्ने तथा सम्याउने जस्ता कार्य गरेर बाटो तथा सडक बनाउने कार्यमा अहोरात्र लागिरहेका छन्।
काभ्रे, सिन्धुपाल्चोक, दोलखाका प्राय बाटो तथा सडक निर्माण गर्ने कार्यमा प्रेम कलाको नव आदर्श निर्माण सेवा लाग्दैरहेको छ। प्रेम कलावाट यतिखेर प्रेम लाल श्रेष्ठको परिचय नव आदर्श निर्माण सेवा भएको छ। त्यसको अलावा वि.सं.२०६६ सालमा स्थापना भएको नेपाल हेभी इक्वीप्मेन्ट संघ र हाल महासंघको संस्थापक सचिव बनेका प्रेम कला यो बर्ष महासंघ भएपछि बरिष्ठ उपाध्यक्षमा निर्वाचित बनेका छन्। काभ्रेको खनालथोकमा जन्मेका ५४ बर्षका प्रेम कलाको पेशा हेभी इक्वीप्मेन्ट भएतापनि उनीभित्रको कलाकारिता जिउंदो जाग्दो नै रहेको छ।
फुर्सदको बेला फर्केर बागबजारको त्यो प्रेम कलामा नै फर्कने उनको मनले मन गर्ने गर्दछ। यसले गर्दा पनि उनको अत्यन्त निकटवर्ती तथा समकालिन आइडियल डिजाइनर्सका प्रसिद्ध कलाकार सुन्दर श्रेष्ठको आइडियलमा गएर मन भुलाउने गर्छन्। छोरा र छोरी पनि कलामा शौखिन छन्।
बाउको बिडो थाम्ने कार्य छोरा र छोरीवाट हुंदा प्रेम कलाको मन सञ्चो हुने गर्दछ। समय तथा परिस्थितिले हेभी इक्वीप्मेन्टको व्यवसायमा लागेतापनि पुरानो त्यो प्रेम कलालाई फेरिपनि जगाउने उनको भित्री चाहना भने अझै रहेको छ।
प्रकाशन मिति–२०७३ साल माघ १५ गते शनिवार ।